म्याग्दीमा विद्यालयस्तरी छात्रा÷छात्रहरुले सहभागि जनाउने प्रथम म्याग्दी भलिबल रनिङ्ग कप हुने भएको छ । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा आगामी पुस ५ गतेदेखि हुने प्रथम म्याग्दी भलिवल रनिङ कप प्रतियोगिताको आईतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराउदै रनिङ कप सार्वजनिक गरिएको हो ।

आईतबार जिल्ला भलिवल संघको कार्यालयमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, राष्ट्रिय महिला भलिवल टिमकी कप्तान अरुणा शाही र जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ क्षेत्री लगायतको उपस्थितमा प्रथम म्याग्दी भलिवल रनिङ कपको ट्रफी सार्वजनिक गरिएको हो ।

अन्तर विद्यालयस्तरीय छात्रा÷छात्र भलिबल प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई क्रमश रु. ५० हजार र ३० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने अध्यक्ष बानियाँले बताउनुभयो । उहाँले विद्यालयस्तरबाट पहिचान भएका प्रतिभावान नयाँ खेलाडीलाई भलिबल खेल क्षेत्रको आधारभूत ज्ञान, सिप, कला सिकाउने र प्रदेश र संघमा हुने प्रतियोगितामा सहभागि गराउने योजनासहित प्रतियोगिता आयोजना गरिएको भन्नुभयो ।

प्रतियोतिगामा उतकृष्ट स्पाईकर, सेटर बलकर, क्विकर, सर्भर, डिफेन्डर, उतकृष्ट खेलाडी र टिमकोचलाई पनि ट्रफीद्वारा सम्मान गरिने छ । ट्रफी सार्वजनिक गर्दै जिसस प्रमुख थापाले विद्यालयस्तरको भलिवल प्रतियोगिताले नयाँ क्षमतावान खेलाडी पहिचान गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले भलिवल खेललाई ब्यवस्थित रुपमा अघि बढाउन आवश्यक समन्वय र सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लामा हुने विद्यालयस्तरको प्रतियोगिताले विद्यालयस्तरमा अतिरिक्त क्रियाकलाप सक्रियता बढाउन प्रेरित गर्ने बताउनुभयो ।

राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले जिल्ला भलिबल संघले आयोजना गरेको छात्रा÷छात्र भलिबल प्रतियोगिताले देशका लागि नयाँ प्रतिभावान खेलाडी पहिचान गराउन सहयोग पुग्ने बताउनुभयो ।

उहाँले खेल क्षेत्रमा राज्यको लगानी कम भएकोले प्रतिभावान खेलाडी ओझेलमा परेको जानकारी गराउदै खेलक्षेत्र लगानी बढाएर नयाँ खेलाडी उत्पादन गराउनमा ध्यान दिन सबैलाई आग्रह गर्नुभयो । यस प्रतियोगिता संचालन गर्नका लागि ‘गौमति खत्री विकास कोष’ले १० वटा प्रतियोगिता संचालन गर्नका लागि रु २÷२ लाख रुपैयाँ दरले सहयोग गर्दै मुख्य प्रायोजक बनेको छ ।

Leave a Reply