म्याग्दीको दरवाङमा अवस्थित शैक्षिक संस्था के.वि एकेडेमीमा विश्व वातावरण दिवसको अवसर पारेर सोमबार वृक्षरोपण तथा विद्यालयमा नयाँ भर्ना हुन आएका विद्यार्थीहरुको स्वागत,पुरस्कार वितरण लगाएत विविधि सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयका संचालक÷ निर्देशक हिरा पुन र प्रिन्सिपल विमल शर्माले विद्यालय परिसरमा अशोकका विरुवा रोपेर उद्घाटन गरेको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रजातीका करिव दुई सय विरुवा रोपण गरेका थिए ।

वृक्ष रोपण पछि नयाँ विद्यार्थी र अभिभावक स्वागत एवम् शैक्षिक वर्ष २०७९ मा विभिन्न विधाहरुमा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थीहरुलाई ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । सोही अवसरमा शैक्षिक वर्ष २०८० मा विद्यालयमा भर्ना हुन आएका ८२ जना नयाँ विद्यार्थी र उनीहरुका अभिभावकहरुलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल विमल शर्माले पश्चिम म्याग्दीको शैक्षिक क्षेत्रमा के.वि एकेडेमीको महत्वपूर्ण भूमिका रहेको र यस विद्यालयले गर्विलो इतिहास कायम गर्न सफल भएको बताउँदै गुणस्तरीय शिक्षा र विद्यार्थीहरुको व्यक्तित्व निर्माण नै विद्यालयको लक्ष्य रहेकोले अभिभावकहरुले पनि सो अभियानमा साथ दिन आग्रह गर्नुभएको थियो ।

निजि तथा संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन म्याग्दीका अध्यक्ष समेत रहनुभएका विद्यालयका संचालक एवम् निर्देशक हिरा पुनले पश्चिम म्याग्दीका विभिन्न गाउँहरुबाट अध्ययनका लागि यस विद्यालयमा आएका विद्यार्थीहरुको भविष्य निर्माण र अभिभावकको सपना साकार पार्नु आफ्नो एकमात्र लक्ष्य रहेको बताउनुभयो ।

उहाँले गुणस्तरीय शिक्षा र विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि आफूले कुनै कुरामा कमी हुन नदिने बताउँदै आवश्यक लगानी र थप भौतिक पूर्वाधार निर्माणका लागि कहिल्यै पछाडी नहट्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विद्यालयका भाइस प्रिन्सिपल धु्रवसागर शर्माको स्वागत र शिक्षक मिनबहादुर महरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply