म्याग्दीको मालिका गाउँपालिका–७ बिममा सर्वसाधारणको सुन सफा गरी दिने भन्दै सुन ठगी गर्ने एक भारतीय नागरिकलाई स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएका छन् ।

सुन सफा गर्ने नाउँमा ठगी गर्दै हिँडेको आरोपमा भारतीय नागरिक गोविन्दा कुमार शाह सहितको भारतीयको एक समुहले बिमकी चनदेवी पुनको घरमा २ तोलको सुनको सिक्रीमा ६५ रती कम देखिएपछि टोलीमा रहेका एक सदस्य गोविन्दा कुमार शाहलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको दरबाङका सुनचाँदी ब्यवसायी प्रेम सेञ्चुरीले बताए ।

भारतीय नागरिक गोविन्दाका अनुसार म्याग्दी भित्र आफ्नो टोलीका धेरै सदस्य रहेको स्वीकार गरेको समेत उनले बताए । गाउँ–गाउँ डुल्दै आफूहरू पीताम्बरको व्यापारी भएको र सुन पनि सफा गर्ने काम गर्ने बताउँदै हिँडेको उनले बताए ।

पश्चिम म्याग्दीका विभिन्न बस्तीमा भारतीय टोलीले सर्वसाधारणको गरगहना सफा गर्ने बाहनामा सक्रिय रहेको सूचनाका आधारमा निगरानी गरिरहेको बताइएको छ । मालिकाको निस्कोट, रुम, दाङ्गा र धवलागिरी गाउँपालिकाको बिम, ताकम, मुना, लुलाङ लगायतका स्थानमा गरगहाना सफा गर्ने बाहनामा भारतीयहरु सक्रिय रहेको स्थानीयको भनाई छ ।

उनीहरूले विभिन्न केमिकल प्रयोग गरी सुन सफा गर्दा सुनको तौल आधासम्म घट्ने गरेको पीडितले बताएका छन् । विगतमा समेत ग्रामिण क्षेत्रमा सुन सफा गर्ने क्रममा १ तोला सुनलाई आधी तोला बनाएर फिर्ता गरेको गुनासो आउने गरेपनि प्रहरी सहित सरोकारवालाले बेवास्ता गरेका थिए ।

भारतीयले ग्रामिण क्षेत्रका सर्वसाधारणलाई विभिन्न प्रलोभनमा पारी लगाइरहेको सुनको सिक्रीलाई सफा गरी तत्काल सुन हेर्न हुन्न सुक्न दिनुपर्छ भनी झुक्याएर लुकाई छिपाई सुन घटाएर फिर्ता गरेको पीडितको भनाई छ । पीडितको उजुरीका आधारमा उनीहरूलाई खोजतलास र अनुसन्धानमा प्रहरी टोली समेत खटिएको छ ।

पक्राउ परेका भारतीय गोविन्दाको साथबाट पीताम्बर, सुन सफा गर्ने सामाग्रीहरू, एसिड, मट्टितेल र सुनका साना टुक्रासमेत फेला परेको छ । यसैबीच आफ्नो गरगहाना सफा गर्ने बाहनामा कसैलाई नदिन र त्यस्ता मान्छे देखेमा प्रहरीलाई खवर गर्न जिल्ला प्रहरी कार्यालय म्याग्दीले आग्रह गरेको छ।

Leave a Reply