म्याग्दीको बेनी नगरपालिकाले आफ्नै ‘लोगो’ बनाएको छ । दशौ स्थापना दिवसको अवसर पारेर बिहीबार नगर प्रमुख सुरत केसीले लोगो सार्वजनिक गरे । नगरपालिकाले उत्कृष्ट ‘लोगो डिजाइन’ गर्नेलाई रु २५ हजार नगद पुरस्कार दिने घोषणा गर्दै सूचना जारी गरेको थियो । खुल्ला प्रतिस्पर्धा मार्फत लोगोको डिजाइन गरेको हो । प्राप्त भएका तीन मध्ये बेनी नगरपालिका–१० का खिमबहादुर खत्रीले पेश गरेको लोगोको डिजाइन छनौट समितिले छानेको थियो ।

नगरपालिकाका सूचना प्रविधि अधिकृत समेत रहेका खत्रीले लोगो बनाएवापत प्राप्त भएको पुरस्कार रकम अपाङ्ग बालबालिकाले पढ्ने स्रोत कक्षालाई उपलब्ध गराउने घोषणा गरेका छन् । बेनी –५ बगुवाखोलाको बौद्धिक अपाङ्ग र वडा नम्बर ४ सिंगाको बहिरा स्रोत कक्षालाई रु. १२ हजार पाँच सयका दरले सहयोग गर्ने उनले बताए । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, सम्बृद्ध बेनी नगरको मुल आधार’ भन्ने मुल नारा बनाएको नगरपालिकाको लोगोमा पालिकाको धार्मिक, ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक पहिचान झल्कने चित्र राखिएको छ ।

बेनीको दश वटै वडाको पहिचान झल्कने गरि लोगोको डिजाइन तयार पारेको खत्रीले बताए । नगरपालिकाले कामकाजमा राष्ट्रियसँगै आफ्नो लोगो पनि प्रयोगमा ल्याउन प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताए । विसं २०७१ जेठ २५ गते तत्कालीन अर्थुङ्ग, रत्नेचौर, ज्यामरुककोट, पुलाचौर र घतान गाविस समावेश गरेर नगरपालिका घोषणा भएकोमा राज्य पुनसंरचनाको क्रममा भकिम्ली र पात्लेखेत गाविसलाई पनि समेटिएको छ ।

स्थापना दिवसका अवसरमा दश  वडाका एक/एक  विपन्न नागरिकलाई नगद रु। पाँच हजारका दरले आर्थिक सहयोग वितरण गरिएको नगर प्रमुख केसीले बताए । वडा नम्बर १ देखि १० सम्मका क्रमश : लक्ष्मी नेपाली, गोपाल सार्की, टेकबहादुर सुनार, बुद्धिमाया किसान, कमल बहादुर खत्री, खिमबहादुर नेपाली, पुजा बि.क., ज्ञानमाया क्षेठ, खमबहादुर राई र जालमाया रोकालाई आर्थिक सहयोग गरिएको प्रशासकीय अधिकृत युवराज थापाले बताए ।

यसैगरी सार्वजनिक भएका एचआइभी सङ्क्रमित दश जनालाई एआरभी औषधी लिन स्वास्थ्य संस्था जान आउने लाग्ने खर्च वापत  दश हजार रुपैँयाका दरले सहयोग गरिएको नगर उपप्रमुख ज्योती लामिछानेले बताए । स्थापना दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको रक्तसञ्चार गृहको प्राबिधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा १५  जनप्रतिनिधि, कर्मचारीहरुले रक्तदान गरेका छन् ।

Leave a Reply