म्याग्दीको मालिका गाउँपालिका–३ र ४ को सिमानामा पर्ने अदिभारामा मोटरेबल पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ देखिनै बजेट बिनियोजन गरेर वार्षिक योजना पुस्तिका (रातो किताब)मा समावेश गरेको थियो ।

लागत अनुमानको २० प्रतिशत बजेट बिनियोजन र स्रोत सुनिश्चितता नहुँदा प्रदेश सरकारको वार्षिक योजनामा समावेश भएपनि पुल निर्माण अघि बढ्न सकेको थिएन् । वार्षिक योजनामा समावेश हुन थालेको दुई वर्षपछि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अदिभारा सडक पुल निर्माणको प्रक्रीया अघि बढाएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले स्रोत सुनिश्चितता र थप बजेटको व्यवस्थापन भएपछि पुल निर्माणको ठेक्का प्रक्रीया अघि बढाउन लागिएको जानकारी दिनुभयो ।

“२५ मिटर लामो सडक पुलको डिपिआर तीन वर्षअघिनै बनेको थियो,” उहाँले भन्नुभयो “चालु आर्थिक वर्षमै कुल लागतको २० प्रतिशत पुग्ने गरि थप बजेट व्यवस्थापन र बहुबर्षीय ठेक्काका लागि स्रोत सुनिश्चितता भएको पत्र आएको छ । अब योजना कार्यान्वयनको प्रक्रीया अघि बढाउछौ ।”

म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित सांसद रेशम जुग्जालीले भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व सम्हालेपछि उहाँको विशेष पहलमा पुल निर्माणका लागि बजेट व्यवस्थापन भएको बताइएको छ ।

कुल रु. छ करोड ९ लाख लागत अनुमान गरिएको पुल निर्माणका लागि अघिल्लो आर्थिक वर्ष २०७८÷७९ र चालु आर्थिक वर्ष २०७९÷८० मा रु. पचास÷पचास लाख बिनियोजन भएको थियो । कुल लागत अनुमानको २० प्रतिशत भन्दा बढी बजेट बिनियोजन र स्रोत सुनिश्चितता भएका आयोजनाको मात्र ठेक्का लगाउन पाउने नीतिगत व्यवस्थाका कारण पुल निर्माणको काम अघि बढ्न सकेको थिएन् ।

चालु आर्थिक वर्षमा सो पुल निर्माणका लागि अपुग थप रु. ९१ लाख थप बजेट व्यवस्थापन गरेर अर्थ मन्त्रालयले हालै बहुबर्षीय योजनाका लागि स्रोत सुनिश्चितता गरि ठेक्का लगाउन सहमति दिएको हो । अदिभारामा मोटरेबल पुल नहुँदा मालिका गाउँपालिकाको वडा नम्बर २ र ३ नम्बर वडाका बासिन्दालाई पालिकाको केन्द्र दरवाङ आउन जान समस्या भएको थियो ।

बर्खामा बाढी र नदीमा पानीको सतह बढ्दा यातायातको साधन सञ्चालन हुन सकेका थिएन् । मालिका–३ का वडा अध्यक्ष मोतिप्रसाद बुढाले पुल बनेपछि बाह्ै महिना नियमित यातायात सञ्चालन गर्न सहज हुने बताउनुभयो ।

यसैगरी प्रक्रीयामै अल्झिएको बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–३ को सिमाना स्थित अर्चेखोला मोटरेबल पुल र अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग–पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माणका लागि थप चालु आर्थिक वर्षमै थप बजेटको व्यवस्था गरेर ठेक्का आव्हान गर्ने तयारी भएको छ ।

Leave a Reply