नेपाल विद्यालय कर्मचारी परिषद् म्याग्दीले सुविधामा विभेद भएको भन्दै विद्यालय कर्मचारीहरु आन्दोलित भएका छन् । सम्झौता र प्रतिबद्धता अनुसार सेवा सुविधा नपाएको भन्दै विभिन्न माग राखेर स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाईमा धर्नामा बसेका कर्मचारीले सरकारले अपमान र झुक्काउने काम गरेको आरोप लगाएका छन् ।

पटक पटक शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसंग विभिन्न सहमति गरे पनि सम्झौता कार्यान्वयन नगरेको, निति तथा कार्यक्रममा समेत उल्लेख भएपनि बजेटमा सेवासुविधाको बारेमा कुनै सम्बोाधन नभएको लगायतका माग सहित आन्दोलनमा होमिएको जामुनाखर्क माविकी लेखापाल सुस्मा मल्लले बताउनुभयो ।

‘विद्यालय कर्मचारीलाई गरेको बेवास्ताको कारण आन्दोलन गर्न बाध्य भएका छौ, हामीलाई दोस्रो दर्जाको कर्मचारी सरह ब्यवहार गरिएको छ’ मल्लले भन्नुभयो । विद्यालय कर्मचारीको तलबसुविधाले सामान्य खर्च चलाउन समेत नसकिने अवस्था रहेकाले सुविधाको ग्यारेन्टी नभएसम्म आन्दोलनबाट नफर्किने चेतावनी समेत दिएका छन् ।

आन्दोलनमा होमिएका जिल्लाभरका विद्यालय कर्मचारीले विद्यालय कर्मचारी सहायक (लेखापाल) विद्यालय सहयोगीहरुको प्रतिबद्धता अनुसारको तलब ग्यारेन्टी गर्नुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई दरबन्दीमा समायोजन गरी स्थायी बनाउनुपर्ने लगायतका माग राखेका छन् । कर्मचारीको आन्दोलनमा विभिन्न राजनीतिक दलमा आवद्ध पेशागत संगठनहरु, शिक्षक महासंघले समेत प्रतिबद्धता जनाएको छ ।

Leave a Reply