म्याग्दीको बेनी नगरपालिकाको उत्कृष्ट लोगो बनाउने बेनी नगरपालिका–१० का खिमबहादुर खत्रीले पुरस्कार बापतको २५ हजार बौद्धिक अपाङ्ता र बहिरा विद्यार्थीलाई सहयोगको घोषणा गरेका छन् ।

नगरपालिकाले उत्कृष्ट ‘लोगो डिजाइन’ गर्नेलाई रु २५ हजार नगद पुरस्कार दिने घोषणा गर्दै सूचना जारी गरेपछि खुल्ला प्रतिस्पर्धा मार्फत उत्कृष्ट घोषित नगरपालिकाका सूचना अधिकृत समेत रहेका खत्रीले बेनी –५ बगुवाखोलाको बौद्धिक अपाङ्ग र वडा नम्बर ४ सिंगाको बहिरा स्रोत कक्षालाई १२ हजार पाँच सयका दरले सहयोग गर्ने बताए । ‘आफ्नो भिजन अनुसार बनाएको थिए, छनौट नै भएपछि प्राप्त पुरस्कारलाई सहयोग गरेको छु’ खत्रीले भने ।

नगरपालिकाको लोगो बनाउन १२ जनाको सहभागिता रहेको थियो । १० औं स्थापना दिवसको अवसर पारेर बिहीबार नगर प्रमुख सुरत केसीले लोगो सार्वजनिक गरेका थिए । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, सम्बृद्ध बेनी नगरको मुल आधार’ भन्ने मुल नारा बनाएको नगरपालिकाको लोगोमा पालिकाको धार्मिक, ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक पहिचान झल्कने चित्र राखिएको छ ।

बेनीको दश वटै वडाको पहिचान झल्कने प्रयास लोगोमा गरिएको छ । नगरपालिकाले कामकाजमा राष्ट्रियसँगै आफ्नो लोगो पनि प्रयोगमा ल्याउने प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकालले बताए ।

Leave a Reply