म्याग्दीमा विद्यालयस्तरको भलिबल प्रतियोगितामा निरन्तर पकट जमाइरहेको अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माविले अन्तर माध्यमिक विद्यालय स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधी समेत जितेको छ ।

म्याग्दीको बेनी नगरपालिका–९,तोरीपानीमा रहेको गलेश्वर माविमा शनिबार आयोजित फाइनल खेलमा सोझो सेटमा प्रकाश माविलाई पराजित गदैं ज्ञानप्रकाश माविले उपाधीमाथि कब्जा जमाएको हो ।

२२ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा ज्ञानप्रकाश माविकै गोविन्द पुर्जाले उत्कृष्ट खेलाडीको पुरस्कार पाएका छन् । प्रतियोगितामा बिजेता र उपबिजेताले क्रमश रु. ५५ हजार ५५५ र रु. ३३ हजार ३३३ पुरस्कार प्राप्त गरेका छन्।

बिजेतालाई बेनी नगरपालिका ९ का वडा अध्यक्ष चक्र केसी, गलेश्वर माविका प्रअ गणेश बानियाँ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले पुरस्कार वितरण गरेका थिए ।

ज्ञानप्रकाश माविका प्रअ शान्त नेपालीले यो उपाधीसँगै विद्यालयस्तरका भलिबलमा लगातार ६ पटक विजय भएको बताए । उनले विद्यालयले शिक्षासँगै खेलकुद गतिविधिलाई समेत प्राथमिकता दिने गरेकाले खेलमा समेत अब्बल भएको बताए ।

विद्यालय बालबालिका कार्यक्रम अन्तरगत भएको छात्र भलिबल प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म पढ्ने विद्यार्थीले भाग लिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए । उनले गलेश्वर माविको ब्यवस्थापन र विद्यालयको सहभागिताले निकै उत्साहित भएको बताए ।

“हाम्रा विद्यार्थी, हाम्रो पहिचान, खेलसँगै गुणस्तरीय शिक्षाको अभियान” भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो । गण्डकी प्रदेश खेलकुद परिषद्को सहयोग र जिल्ला खेलकुद विकास समितिको समन्वयमा प्रतियोगिता सञ्चालन भएको भएपनि आर्थिक अपुग भएपछि सहयोग जुटाएर प्रतियोगिता सम्पन्न गरेको खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितामा आर्थिक, भौतिक र अन्य सहयोग गर्नेलाई समेत सम्मान गरिएको थियो ।

Leave a Reply