महिलालाई आत्मनिर्भर बनाउन म्याग्दीको बेनी नगरपालिकाले आमा समूहसँग उपमेयर कार्यक्रम सञ्चालन गरेको छ ।
आमा समूहलाई परिचालन गरेर महिलाहरुको आर्थिक र सामाजिक शसक्तिकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

महिलाहरुलाई आर्थिक रुपमा सक्षम, आत्मनिर्भर, स्वाभलम्बि र सामाजिक रुपमा शसक्तिकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो ।

“समुदाय स्तरमा महिला शसक्तिकरण र सामाजिक कामको अगुवाई गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोत, साधन र सम्भावना भएको उद्यम व्यवसायी गरि आयआर्जनका काममा संलग्न गराउन खोजिएको छ,” उहाँले भन्नुभयो “महिला आर्थिक रुपमा सक्षम भए भने हिंसा न्युनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडी आउन सक्ने हुनेछन् ।”

नगर उपप्रमुख लामिछानेको प्रस्तावमा कार्यपालिकाको पहिलो बैठकले यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । चालु आर्थिक वर्षमा रु. २० लाख बिनियोजन भएको कार्यक्रमका लागि नगरपालिकाले वडा नम्बर ३ र ९ लाई छनौट गरेको छ । दुई वटा वडाका तीन÷तीन वटा आमा समूहले आयआर्जन र सिपमुलक काम शुरु गरेका छन् । घतानको सिकाई केन्द्रले लागू औषध विरुद्धको सचेतना कार्यक्रम सञ्चालन गरेको वडा अध्यक्ष चक्र केसीले बताउनुभयो ।

बेनपा–३ को स्वर्गाश्रम, बेलढुङ्गा र मण्डली आमा समूहले स्थानीय जातका कुखुरापालन शुरु गरेका छन् । तीन वटा समूहमा आवद्ध ३५ जनालाई खोर निर्माणमा अनुदान, तालिम, चल्ला वितरणको कार्यक्रम बनाइएको वडा अध्यक्ष रत्न जिसीले बताउनुभयो ।

वडा नम्बर ९ को गलेश्वर आमा समूहमा आवद्ध २० जना महिलाहरुका लागि शुक्रबारदेखि चप्पल बनाउने तालिम शुरु भएको छ । नेप्टेचौरमा ढालमोड, नेमकिन र तोरीपानीमा आलुको चिप्स बनाउने तालिम शनिबारदेखि शुरु भएको वडा अध्यक्ष चक्र केसीले बताउनुभयो ।

सामाजिक समस्याको रुपमा देखिएको लागू औषधी दुब्र्यसनी न्युनीकरणका लागि टोल स्तरमा सचेतनामुलक कार्यक्रम गरिएको छ । घतानका १७ वटा आमा समूहलाई तीन वटा समूहको कार्यक्रममा आवद्ध गराइएको छ । तालिममा सहभागिलाई व्यवसाय गर्न कच्चा पदार्थ, सामग्री र औजार सहयोग गर्नुका साथै बजारीकरणमा सघाउने नगरपालिकाले जनाएको छ ।

Leave a Reply