जवरजस्ती करणी, अपहरण र शरिर बन्धक सम्बन्धी आरोपमा थुनामा रहेका मोटरसाइकल राईडर प्रभात बसेललाई धरौटीमा रिहा गर्न जिल्ला अदालत म्याग्दीले आदेश दिएको छ । बिहिबारको धुनछेक बहसपछि बसेललाई अपहरण र शरिर बन्धक सम्बन्धी मुद्धामा २ लाख ५० हजार रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हो ।

जिल्ला अदालत म्याग्दीका न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासले केही शर्त सहित उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । जायरवाला ४३ ९४०० ले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा बसेलमाथि अपहरण र शरीर बन्धक सम्बन्धी जाहेरी दिएकी थिईन् ।

आदेशमा मुद्धाको अन्तिम टुंगो नलाग्दासम्म बसेल र उनका परिवारबाट जायरवाला र परिवारसँग भेटघाट नगर्ने, गोपनीयतामा असर गर्ने, भौतिक, शारीरिक र मानसिक क्षती पुग्ने कार्यहरु नगर्ने लगायत मुद्धालाई प्रभावित पार्ने गतिविधि नगर्न समेत आदेश दिइएको छ ।

जिल्ला अदालत म्याग्दीबाट धरौटीमा छुटेका बसेललाई कास्की प्रहरीमा रहेको जवरजस्ती करणीको मुद्धामा अनुसन्धान गर्न बिहिबार नै कास्की प्रहरीमा पठाइएको जिल्ला अदालत म्याग्दीका शाखा अधिकृत शंकर सापकोटाले बताए ।

बागलुङ नगरपालिका–९,तित्याङका २३ वर्षीय प्रभात बसेललाई यही जेठ ७ गते पोखराबाट प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । प्रभातको पक्षमा अधिवक्ता सागरजिवी उपाध्याय, शिब सुनार, राम शर्मा, इश्वर परियार र कुञ्जनी परियारले बहस गरेका थिए ।

प्रभातलाई जायरवाला जायरवाला ४३ ९४०० ले ०७९ फागुन ६ गते अपहरण गरेर बन्धक बनाई बलात्कार गरेको भन्दै गएको जेठ २ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरीपछिको अनुसन्धान सकेर यसैसाता प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

जिल्ला अदालत म्याग्दीबाट धरौटीमा छुटेपनि प्रभातले भने जवरजस्ती करणीको मुद्धामा कास्की प्रहरीको हिरासतमा बस्नुपर्ने छ । प्रभात ३ वर्षदेखि बेनीको एक इन्टरनेट सेवा प्रदायक कम्पनीमा प्राविधिकको रुपमा काम गर्दै आएका थिए ।

Leave a Reply