म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको पर्यटकीय तथा प्राकृतिक तातोपानीे कुण्डलाई सुन्दर बनाउन थालिएको छ । पोखरा पर्यटन बोर्डको सहयोगमा तातोपानी कुण्ड व्यवस्थापन समितिले सुन्दर बनाउन लागेको हो । सिङ्गा–तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कृष्ण खड्काले कुण्ड परिसरका भौतिक संरचनालाई मौलिक र वरपर बगैँचा बनाएर आकर्षक बनाउन थालिएको बताए ।

“पहिलो चरणमा यस वर्ष मौलिकता झल्कने प्रवेशद्वार र कपडा फेर्ने ठाउँ बनाउन लागेका छौँ”, उनले भने, “बजारदेखि कुण्डमा जाने पैदलमार्गको वरपर र पाखोमा फूल रोपेर बगैँचा बनाइसकेका छौँ ।”शरीर डुबाएर स्नान गर्न तलाउमा जाने प्रवेशद्वारलाई मौलिक बनाउन भक्तपुरे इँटा प्रयोग गरिएको सचिव खड्काले बताए । स्नानपछि कपडा फेर्न महिला र पुरुषका लागि छुट्टाछुट्टै कोठा बनाउन लागिएकोे छ ।

पर्यटन बोर्डका सहायक प्रमुख नवराज पोखरेलले यस वर्ष तातोपानी कुण्डको सौन्दर्यता थप्न रु १५ लाख बजेट विनियोजन गरिएको बताए । कुण्ड समितिको थप रु तीन लाख लागत साझेदारीमा सोे काम सुरु गरिएको हो । आगामी वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने बोर्डले जनाएको छ ।

दाताको सहयोगमा कुण्ड व्यवस्थापन समितिले यसअघि जलमाई मन्दिर र वुद्धको मूर्तिसहित स्तम्भ निर्माण गरेको थियो । म्याग्दी नदीको किनारबाट प्राकृतिकरूपमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा स्नानसहितको उपचार र अवलोकनका लागि तातोपानीमा पाहुनाहरू आउने गर्छन् ।

कुण्ड परिसरको वातावरणलाई रमणीय र आकर्षक बनाइने कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए । बिरेनुनको गन्ध आउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको निको हुने त्यहाँ नुहाउन आउनेहरूको भनाइ थियो ।

प्राकृतिक उपचारस्थलका रूपमा परिचित तातोपानीमा स्नानका लागि देशभरका नागरिकका साथै विदेशबाट पनि मानिस आउने गर्छन् । विसं २०७९ साउनदेखि २०८० जेठ महिनासम्म १७ हजार नौ सय ९३ जनाले स्नान गरेका समितिका कर्मचारी रेशम कार्कीले बताए ।

तातोपानी सङ्कलन गरिएको तलाउमा एकपटकमा तीन सय ५० देखि चार सय जनाले स्नान गर्न सक्ने क्षमता छ । एक दिनमा दुईपटक दुई–दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्किएर पाँच–दश मिनेटसम्म पछ्यौरा, व्याल्यङ्केट, पलास्टिक, काम्लो आदि न्याना कपडा ओढेर शरीरबाट चिटचिट पसिना ननिस्कँदासम्म विश्राम गरिन्छ ।

सात दिनसम्म स्नानका लागि प्रतिव्यक्ति रु तीन सय ५० शुल्क तोकिएको छ । प्रवेशशुल्क र चन्दा सहयोगवापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउनुपर्छ ।बचत भएको रकम कुण्डका कर्मचारीको तलब, सञ्चालन, पूर्वाधार निर्माण, विद्यालयलाई अनुदान र सामाजिक क्षेत्रमा खर्च गरिँदै आएको छ । विगत १३ वर्षदेखि सरस्वती माविका १६ जनामध्ये चार निजी शिक्षकको तलबका लागि तातोपानी कुण्डले मासिक रु एक लाखका दरले सहयोग गर्दै आएको छ । रासस

Leave a Reply