गण्डकी प्रदेश सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा म्याग्दीको पूर्वाधार विकास र पर्यटनसँग सम्बन्धित योजनाले प्राथमिकता पाएको छ ।

आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले सार्वजनिक गर्नुभएको बजेट बक्तब्यमा म्याग्दी स्थित अन्नपूर्ण र धौलागिरि हिमालको आधार शिविर जोड्ने पदमार्गको साथै म्याग्दीको दाना देखि मुस्ताङको घाँसा जोड्ने सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने उल्लेख छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना देखि मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा जोड्ने लगायत प्रदेशका पाँच वटा सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने आर्थिक मामिला मन्त्री आलेले घोषणा गर्नुभएको छ ।

तनहुँको भिमाददेखि नवलपुरको डेढगाँउ र नवलपुरको डेढगाँउ–झ्यालबास खण्डको सुरुङमार्गको सम्भाव्यता अध्ययन कार्य आगामी वर्ष प्रारम्भ गने अर्थमन्त्री आलेले बताउनुभयो । म्याग्दीको दाना–घाँसा सँगै बागलुङको काठेखोलादेखि गलकोटको नरेठाँटीसम्म र लमजुङको शीतलपाटीदेखि नाल्माफेदीसम्म सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने प्रदेश सरकारले सार्वजनिक गरेको बजेट बक्तब्यमा उल्लेख छ ।

राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर अन्तरगतको बेनी–जोमसोम–कोरला सडक आयोजनाले पहिरोको समस्या देखिएको दाना–घाँसा खण्डमा सुरुङ मार्ग बनाउने योजना अघि सारेको थियो । “अन्नपूर्ण पदमार्ग, माछापुच्छ्रे पदमार्ग, धवलागिरी पदमार्ग, मिलेनियम ट्रेक, डा. हर्क गुरुङ टे«क, राइनासकोट, लिगलिगकोट, लार्केभञ्ज्याङ पास, रानी वन पर्यटकीय क्षेत्र, राउण्ड फेवा एण्ड भ्यु फेवा टप एण्ड क्लोज सर्किटमा सम्भाव्यता अध्ययन तथा पूर्वाधार निर्माणको लागि आवश्यक बजेट बिनियोजन गरेको छु,” अर्थमन्त्रीको बक्तब्यमा उल्लेख छ ।

संसारको सातौ आठ हजार १६७ मिटर अग्लो धवलागिरी म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा पर्छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ को भूगोलमा पर्छ ।

रु. ३३ अरब ४२ करोडको कुल बजेट सार्वजनिक गरेको गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मार्फत कार्यान्वयन हुने सडक, सडक पुल र झोलुङ्गे पुल निर्माणका लागि रु. ११ अरब १६ करोड बजेट बिनियोजन गरेको छ ।

आगामी वर्ष थप तीन सय किलोमिटर सडक कालोपत्र हुने, २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल निर्माण हुने बजेट वक्तब्यमा उल्लेख छ । पुँजिगत शिर्षकमा बिनियोजन भएको रु. २० अरब १९ करोडको बजेटको ठूलो हिस्सा पूर्वाधार मन्त्रालयले पाएको छ । भौतिक पूर्वाधार मन्त्रालय प्रदेशकै सबैभन्दा ठूलो बजेट भएको मन्त्रालय हो ।

मन्त्रालयले आगामी वर्षको योजनामा न्युनतम ३० लाख बजेट बिनियोजन गरेको छ । टुक्रे योजना कटौती गरेको र रु. ३० लाख भन्दा कमका योजना सिफारिस नगरेको भौतिक मन्त्री रेशम जुग्जालीले बताउनुभयो ।

“संघीय व्यवस्थालाई बलियो बनाउने र प्रदेशको औचित्य पुष्टि गर्न पनि योजना तर्जुमाको परम्परागत शैली बदलेका छौ,” उहाँले भन्नुभयो “बहुबर्षीय ठेक्का लागिसकेका पुराना आयोजनालाई पूर्णता दिन प्राथमिकता दिदै नयाँ योजना थपिएका छन् ।”

पूर्वाधार मन्त्रालय मार्फत म्याग्दीमा देखिने काम हुने गरी योजनाहरुमा बजेट बिनियोजन भएको मन्त्री जुग्जालीले बताउनुभयो । “म्याग्दीका जनताले अनुभुति गर्ने गरी योजनाहरु परेका छन,” उहाँले भन्नुभयो “रातो किताब आएपछि आधिकारिक रुपमा जानकारी हुनेछ ।”

 

Leave a Reply