एउटा सुकिलो मुकिलो चिरपरिचित अनुहार । उसलाई चिनेजाने जति प्रायःजसो सबैले प्रतिष्ठाले हेर्छन् । संभवत तपाई हाम्ले पनि हेरिन्छ । उसको समाजमा त्यो खालको परिचय छ ।

तपाईले कहिलेकाही सोच्नु हुन्छ, मान्छे कति रुपको हुन्छ? मान्छे जसरी बाहिरी आवरणमा देखिन्छ अथवा प्रस्तुत हुन्छ के त्यही आवरण वास्तविक हो त!? म यो कुराले सोचाइमा परे । मान्छे सोच्दछ एउटा, बोल्छ एउटा, गर्छ अर्को । उसले नकाब भिरेको छ आफ्नो वास्तविकता लुकाउन होला सायद! उसको नकाब भित्रको उसलाई हेर्ने प्रयास हो यो । मैले “उ” भनेर बिम्ब प्रयोग गरेको छु उ बिम्ब भित्र धेरै नेताहरू पर्छ सक्छन् । मैले यहाँ “उ” भन्दा तपाईले कसलाई सम्झिनु हुन्छ त्यो तपाईको कुरा हो ।

उ नेता हो । उसलाई कहाँ के बोल्नुपर्छ त्यसको ज्ञान छ । उ ठाउँ र माहोल हेरेर के बोल्नुपर्छ , त्यो बोल्ने कलामा उ माहिर छ । बाल दिवस थियो । मञ्चमा उभिएर बालबालिकाको अधिकार बारे चर्को चर्को भासण दिदै थियो, उ दोस लगाउथ्यो राज्यलाई । उ भन्थ्यो शिक्षा क्षेत्रमा सरकारले अर्बौं लगानी गर्छ तर पनि हाम्रा सरकारी बिद्यालय धोस्त भए । हाम्रा बिद्यालय बाल मैत्रीपुर्ण भएनन् । आज पनि हजारौं विद्यार्थी शिक्षाको पहुँचबाट बञ्चित छन् । विद्यार्थीहरुलाइ समयमा पाठ्यक्रम उपलब्ध हुँदैन । कतिपय विद्यालयहरु अझै जीर्ण छन् । विद्यार्थीको हकहितको लागि म र मेरो पार्टी जस्तोसुकै लडाइ लड्न पनि तयार छ । यस्तै यस्तै … चर्को चर्को भासण दियो ।

मलाई लाग्यो यो उसको नकाबवाला चेहरा हो । र नकाब भित्र उ कस्तो छ त्यो पनि हेरौं । उ नेता हो । उसको निजि स्कुल छ तर उसले सरकारी बिद्यालयमा राजनीति गर्छ । उसका सन्तान निजि स्कुलमा पढ्छन् । गरिबका सन्तान पढ्ने स्कुल र क्याम्पस उसको राजनीति गर्ने थलो हो । बेलाबेलामा जग्गा कारोबार उसको अतिरिक्त व्यवसाय पनि रहेछ । मिटर व्याजवाला पैसा लगानी कर्ता पनि हो उ । तर उसले कहाँ लगानी गर्नुपर्छ, कस्तो मान्छेलाई गर्नुपर्छ जानेको छ । म उसलाई मिटरे नेता भन्छु । मिटरे नेताले गर्दा २/४ जनाको त घर नै लिलाम भयो । राज्यले अवैध भनेको बोलचालीमा ढिकुटी संचालक पनि हो उ । उ जनप्रतिनिधि उसले बिकास योजना उपभोक्ता समितिलाइ दिन्छ । उपभोक्ता समितिको अध्यक्ष आफ्नो निकट राखेर चुनावमा खर्च धेरै भएको छ चुनाव खर्च उठाउन पर्यो मलाई पनि तानतुन गरेर गोडालाख मिलाउ भन्दो रहेछ । उसैको आफ्नै मान्छे बाट सुनियो ।

उसले भासणमा भन्थ्यो कृषिमा जनतालाई आत्मनिर्भर गराउन सकिन्छ । यसै अन्तर्गत राज्यले कृषि क्षेत्रमामा अर्बौं लगानी गर्छ । कृषकलाई लाखौं करोडौं अनुदान दिन्छ । बर्षौं देखि कृषी गरि आफ्नो उत्पादित बस्तु डोकोमा बोकेर बिक्री गर्ने गरिब तथा बिपन्न कृषकका दिए आए । आदर्शको कुरा गर्थ्यो । समाज रुपान्तरणको कुरा गर्थ्यो । सिस्टमको कुरा गर्थ्यो । सर्वहारा श्रमजीवी जनताको हितको कुरा गर्थ्यो । मेरो बुझाइमा उसले जस्तो कुरा गर्न कमैले जान्दछन् ।

त्यो पनि उसको नकाब भित्रको बोली नै रहेछ । कृषि क्षेत्रमा राज्यले करोडौं अनुदान त दियो तर एउटा गरिब जसले तरकारी खेती गरि उत्पादन गरेको तरकारी डोकोमा बोकेर बजार पुर्याएर बिक्री गरि आफ्नो सन्तानलाई शिक्षा दिन्छ उसले पाएन । त्यो डोकोमा साग बेचेर आफ्नो सन्तानलाई डाक्टर पाइलट पढाउने सपना देख्ने कृषकको अनुदान पाउनको लागि पहुँच पुगेन । राजनैतिक पक्षपोषण भएन ।

बरु यी उस्तै उस्तै मिलेर कृषि फम दर्ता गरे २ देखि ४ प्रतिशत मा करोडौं कृषि ऋण निकाली आफ्नो सहकारीमा १२/१४ प्रतिशतमा राखे । वा अन्तै लागानी गरे । अहिले यिनी कृषक पनि भएका छन् । यिनले खेतीयोग्य जमिन पलाटिङ गरेर टुक्राटुक्रा पारी बिक्री गर्छन् अनि यता फेरि नक्कली कृषक बन्छन् । यिनले नक्सा मै नभएको जग्गा देखाएर बेचेछन् । एकजना कमरेडले पोखरामा भण्डारी भाइलाई करोडको जग्गामा त्यसैगरी थाङ्नामा सुताएछ । राज्यको रकम दोहन गर्न र जनता ठग्न तालिम वा ट्युसन लिन मन भए यिनको संगत गर्दा हुन्छ ।

मैले देखेकै र भोगेकै कुरा जोड्न चाहे । बेनी बजारमा अवस्थित जतिपनी निजि बोर्डिङ स्कुल छन् । तपाई हामीलाई अवगत भएकै कुरा हो तिनका मालिक राजनीतिक दलका नेता हुन् । ती बोर्डिङका निजि बस सवारीसाधन छन् । ती बस आफ्नो विद्यार्थी लिन तातोपानी सम्म पुग्ने रहेछन् । मुख्य बिसय बस्तु जोड्न चाहन्छु । विपन्न परिवारको बालबालिका सरकारी बिद्यालय पढ्न आउनका लागि दैनिक ४/५ किलोमीटर पैदल हिडेर बगुवाखोला, चुत्रेनी, डम्मरा बाट बेनी आउने जाने गर्ने रहेछन् । बोर्डिङ स्कुलको नाम नलिउ, त्यही सडकबाटोमा दैनिक ४ वटा जति निजि स्कुलको बस तातोपानी देखि ७/८ जनाको दरले विद्यार्थी बोकेर रित्तो फर्किने रहेछ ।

मैले सम्झिए त्यो बाल अधिकारबारे बोल्ने नेता । मैले सम्झिए बाल समानता बारे चर्को भासण दिने त्यो नकाबवाला अवरसवादी । अनि सोचमग्न भए । ती विद्यार्थीहरु छिमेकी हुन् । स्कुल समय बाहेक ती सँगसँगै हुन्छन् । एउटा विद्यार्थी जो गरिब हुनुकै कारण दैनिक ३ किलोमीटर हिडेर स्कुल जाने आउने गर्छ । अर्को विद्यार्थी जो केही सम्पन्न भए कै कारण उसको घर सम्म बस लिन र छाड्न आउँछ । त्यो गरिब विद्यार्थी जसले जेठको चरम गर्मी र साउनको झरी सहेर आफ्नो पढाइलाई निरन्तरता दिएको छ ।

अनि सोच्न थाल्छु । त्यो कलिलो बाल मस्तिष्कमा कस्तो असर गरेको होला । उसले यो बुझेको हुनुपर्छ हामी गरिब भएकै कारणले म सरकारी बिद्यालयमा पढ्छु । दैनिक हिडेर आउने जाने गर्छु । उ हामी भन्दा धनी छ त्यसैले उसलाइ लिन र छाड्न गाडी आउँछ । त्यो विद्यार्थी माथी गरिएको विभेद बारे को बोल्ने । मिटरे नेता? नकाबवाला नेता? कृषी अनुदाने नेता? शिक्षाको व्यापार गर्ने नेता? कि जग्गा दलालवाले नेता? तपाई? म? को बोल्ने …?

यहि कुरा लिएर जिम्मेवार प्राप्त कुनै पदमा बसेको व्यक्तिलाई राखे पनि । ५/७ जना मात्रै विद्यार्थी बोकेर रित्तो फर्किने ४ वटा निजि स्कुलका बसमा ती सरकारी बिद्यालय पढ्ने विपन्न परिवारका विद्यार्थीलाई अनिवार्य ल्याउनुपर्ने नीति गराउनु होस् । ती विद्यार्थीलाई तिमीहरू ९ बजे भित्र यो ठाउमा आउ यहाँ देखि मंगलाघाट सम्म तिमीहरूलाई निशुल्क यातायात सुबिधा छ भनेर घोषणा गर्नुस् । यो कुरा राखेको पनि आज ३/४ महिना हुन लागेछ ।

हुन त प्रथम मेयर पनि निजि स्कुलको मालिक र हालको मेयर पनि निजि स्कुलको मालिक । अनि जिल्लाका जिम्मेवार नेताहरू पनि निजि स्कुलमा आफ्नो लगानी छ । घाटा हुने काम पनि कसैले गर्छ त! गर्दैन । मान्छे सोच्दछ एउटा, भन्छ एउटा गर्छ अर्को । मान्छे वास्तविकतामा हुन्छ एउटा तर समुदायमा देखिन्छ अर्को । त्यसलाई म नकाबवाला मानिस भन्छु । यी नकाबधारी नागरिकको मौलिक हक-अधिकार प्रती तपाई हामीले सोचेको जस्तो जिम्मेवारी भएको देखिदैन । आफ्नो नेताकार्यकर्ता र दलबाहेक जनहितको लागि जिम्मेवार भएर सोच्दैनन् ।

हाम्रो समाज र हाम्रो सन्तानको भविस्यको लागि नकाबधारी नेताहरू भाइरस हुन् भन्दा फरक नपर्ला । लोकतान्त्रिक पद्धति भएको मुलुकमा जनता जनार्दन हुन् भन्ने मुल्य मान्यता यिनले कहिल्यै बुझेनन् । यी एउटा निश्चित संगठन र आफ्नो आसेपासेको लागि मात्रै सोच्दैनन् भनेर भन्न सकिदैन । हामीले यस्ता प्रवृत्ति गरेका नेतालाई कहिलेसम्म हाम्रो समाजको जिम्मेवारी दिने? हामीले जनताको नेता कहिले जन्माउने? हामीले आफ्नो अधिकार बारे कहिले सोच्ने? धेरै हेरियो र सहियो । अब उठौं र सोधौं यिनलाई हामीले राज्यलाइ कर तिरेर के तिम्ले सेवा सुबिधा त पायौं हामी जनताले के पायौं??

Leave a Reply