नेपाल राष्ट्र बैंकले यदि कसैले बैंकको कर्मचारी बताउँदै ओटीपी (वन टाइम पासवर्ड), पिन वा अन्य कुनै नम्बर उल्लेखित म्यासेजका विवरण मागेमा नदिन आग्रह गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गरेर विगत केही समयदेखि अनधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकको कर्मचारी बताउँदै ग्राहक पहिचान (केवाइसी) विवरण अद्यावधिक गर्नका लागि ओटीपी वा निश्चित अंकको नम्बर उल्लेख भएको म्यासेज विवरण मागेर रकम चोरी गरेको पाइएको भन्दै सजग हुन आग्रह गरेको हो ।

‘यस्ता अनधिकृत व्यक्तिले ग्राहकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, वालेटजस्ता विद्युतीय भुक्तानीका साधनको पासवर्ड रिसेट गरी ग्राहकको खातामा आफ्नो पहुँच पुर्‍याई खाताबाट रकमान्तर गर्ने प्रवृत्ति बढेको पाइएको छ’ सूचनामा भनिएको छ ।

यस किसिमका ठगीबाट जोगिन अपरिचित व्यक्तिले माग गरेको कुनैपनि सूचनाहरु उपलब्ध नगराउन आग्रह गरेको हो । कसैले यस्ता घटना घटाएमा वा घटाउनका लागि उत्प्रेरित गरेमा सोको जानकारी तत्काल सम्बन्धित बैंक, वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायक संस्था वा राष्ट्र बैंकको ग्राहक संरक्षण पोर्टलमा दर्ता गराउन आग्रह गरेको छ । यसबाहेक भुक्तानी समबन्धी कार्य गर्ने संस्थाहरुलाई यस्ता अवाञ्छित गतिविधिहरु सम्बन्धमा सुक्ष्म निगरानी गर्न समेत निर्देशन दिएको छ ।

 

Leave a Reply