तथ्याङ्क कार्यालय बागलुङको आयोजनामा मङ्गलवार म्याग्दीको सदरमुकाम बेनीमा एक समारोहबीच म्याग्दी जिल्लाको प्रमुख नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत जनगणना कार्यक्रममार्फत सङ्कलित विभिन्न तथ्याङ्कहरुको विवरण सार्वजनिक गरिएको हो ।

२०७८ सालमा गरिएको म्याग्दी जिल्लाको जनगणनाअनुसार जिल्लामा जम्मा परिवार संख्या २८ हजार ८ सय ३० रहेकोमा कुल जनसंख्या १ लाख ७ हजार ३३ रहेको छ । २०६८ सालको जनगणनाअनुसार जिल्लाको कुल परिवार संख्या २७ हजार ७ सय ६२ रहेकोमा त्यतिबेला कुल जनसंख्या १ लाख १३ हजार ६ सय ४१ रहेको थियो । अहिले ०७८ सालको जनगणनाअनुसार परिवार संख्या बढेको भए पनि जनसंख्या भने घटेको छ ।

पछिल्लो जनगणनाको नतिजाअनुसार जिल्लामा पुरुषको जनसंख्या ५२ हजार १ सय ५३ रहेको छ भने महिलाको ५४ हजार ८ सय ८० रहेको छ । यसैगरी परिवारको औषत आकार ३ दशमलव ७१ प्रतिशत रहेको छ भने लैङ्गिक अनुपात प्रति सयजना महिलामा पुरुषको संख्या ९५ दशमलव ०३ प्रतिशत रहेको छ । त्यस्तै जनघनत्व प्रतिवर्ग किलोमिटर ४७ जनाको बसोबास रहेको छ । वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक रहेकोमा माइनस शुन्य दशमलव ५७ प्रतिशत रहेको तथ्याङ्क कार्यालय बागलुङले जनाएको छ । जनगणनाको जारी नतिजाअनुसार म्याग्दीमा साक्षरता दर कुल ७९ दशमलव ७० प्रतिशत रहेकोमा पुरुष ८७ दशमलव ७१ प्रतिशत र महिला ७२ दशमलव १८ प्रतिशत रहेका छन् ।

जनगणनामा अनुपस्थित (अस्कर विदेशमा बस्ने) जनसंख्यातर्फ कुल परिवार संख्यामध्ये ८ हजार ३ सय २० रहेकोमा जनसंख्यामा भने १० हजार ७ सय ६६ जना रहेको तथ्याङ्कले देखाएको छ । यसमध्ये पुरुष ८ हजार ९ सय ६१ जना र महिला १८ सय ५ रहेका छन्भने कुल जनसंख्याको शुन्य दशमलव ४९ प्रतिशत विदेशमा रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो । जनगणनाको नतिजा सार्वजनिक कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा र सञ्चालन घनश्याम सापकोटा, तथ्याङ्क कार्यालय बागलुङका प्रमुख चन्द्रकान्त सुबेदीले सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply