---Advertisement---

मालिकाले गाँजा खेतीको अध्ययन हुने, घरेलु मदिरा ब्राण्डिङ गर्ने

On: June 20, 2023 10:43 PM
Follow Us:

म्याग्दीको मालिका गाउँपालिकाले औषधिजन्य प्रयोगको लागी गाँजा खेतीको सम्भाब्यता अध्ययन गर्ने भएको छ ।आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि नीति तथा कार्यक्रम गाउँसभामा अध्यक्ष बेगप्रसाद गर्बुजाले औषधिजन्य प्रयोगको लागी गाँजा खेतीको सम्भाब्यता अध्ययन गरिने बताएका हुन् ।

मंगलबार गाउँपालिकाको सभाहल छयारछयारेमा आयोजित गाउँपालिकाको १३ औं गाउँसभाको अधिवेशनमा गाँजा खेतीको सम्भाब्यता अध्ययनका लागि बजेट विनियोजन गरिने छ । पश्चिम म्याग्दीमा प्राकृतिक रुपमै उम्रिएको गाँजाको दुरुपयोग तथा कुलतमा फसेकाहरुको नजरमा पर्ने गरेको छ ।प्रहरीले समुदायसँगको सहकार्यमा बर्षेनी सयौं रोपनीमा आफै उम्रिएको गाँजा नष्ट गर्ने गरेको छ ।

संघीय र गण्डकी प्रदेश सरकारले समेत गाँजा खेतीको सम्भाब्यता अध्ययन गर्ने बजेटमार्फत घोषणा गरेको अवस्थामा गाउँपालिकाले समेत औषधीको प्रयोजनका लागि सम्भाब्यता अध्ययनमा चासो देखाएको अध्यक्ष गर्बुजाले बताए । ‘यसपटक स्थानीय उत्पादनलाई प्रर्बधनमा प्राथमिकता दिएका छौ,‘कृषिउत्पादनमा समेत आत्मनिर्भर बनाउने योजना छ’ अध्यक्ष गर्बुजाले भने ।

यसैबीच गाउँपालिकाले घरेलु मदिराको ब्रान्डिङ पनि गर्ने निति तथा कार्यक्रममा उल्लेख गरेको छ । गाउँपालिका भित्र घरेलु मदिरा उत्पादन र बिक्री वितरणको अध्ययन गरेपछि ऐन तयार गरी स्थानीयस्तरमै उत्पादन हुने कोदो र विभिन्न फलफूल खेर गहिरहेकाले त्यसबाट गुणस्तरीय मदिरा उत्पादन गर्ने, ब्रान्डिङ गरी बिक्रीवितरण गरेर आन्तरिक स्रोत वृद्धि गर्ने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ ।

घरेलु मदिरा जनजातिको संस्कृतिसँग पनि जोडिएकाले त्यसलाई ब्रान्डिङ गर्न बजेट नै विनियोजन गर्ने गाउँपालिकाले जनाएको छ । त्यस्तै ’किसानलाई चौतारी जोतौ खेतबारी‘ भन्ने अभियान सहित बाझो जग्गामा खेती गर्ने, ‘खाऔं आफ्नो बारीको नखाऔं सिमा पारीको’ अभियान सहित स्थानीयस्तरमै तरकारी तथा अन्नबालीको पकेट क्षेत्रको पहिचान गर्ने, दिवा खानामा रैथाने बाली र ३ विद्यार्थी एक करेसाबारीलाई प्रोत्साहन गर्न विद्यालयलाई समेत सहयोग गर्ने नीति मालिकाले ल्याएको छ ।