बेनी नगरपालिका–७,ले आ.व. २०८०÷८१ मा बस्तीतहबाटै छनौट भएका योजनालाई प्राथमिकता दिने भएको छ । म्याग्दी जिल्लाको सदरमुकाम रहेको वडाभित्र आवश्यक पूर्वाधार सहितका योजनालाई यसपटक उच्च प्राथमिकता दिदैं योजना छनौट तथा बजेट निर्माण गरेमा सहज हुने वडाबासीको भनाई छ ।

वडा कार्यालयले बुधबार नगरपालिकाको सभाहलमा आयोजना गरेको चालु आवमा भएका कार्यक्रमको समिक्षा तथा योजना प्राथमिकीकरण एवं विधागत सम्मान कार्यक्रममा हरेक बर्ष फरक फरक योजना कार्यान्वयन गर्ने गरी योजना बैंक बनाएर जाँदा सहज हुने बताइएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बस्तीस्तरबाट छनोट भएर आएका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने बताए । उनले गतवर्ष प्राथमिकतामा परेर बजेटमा समावेश हुन नसकेका योजना, वडाबासीले बस्तीस्तरबाट दिएका सुझावका आधारमा योजना छनोट गरिने बताए ।

’सदरमुकामको वडा भएकाले अन्य क्षेत्रबाट आउनेलाई समेत सहज हुने पूर्वाधारमा पनि प्राथमिकता दिनुपर्छ,’समुदायको सहभागितालाई प्राथमिकतामा राखेर नै योजना छनौट गर्नेछौ‘ अध्यक्ष श्रेष्ठले भने । उनले वडाभित्रका सबै बस्ती र क्षेत्रलाई समेटेर योजना छनौट हुने बताए । कार्यक्रममा निर्वतमान वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले वडाबासीको प्रत्यक्ष सहभागितामा आएका योजना विकासका दृष्टिले पनि बढी प्रभावकारी हुने भएकाले समेट्नुपर्ने बताए ।

कार्यक्रममा बिरेन्द्रचोक टोल सुधार समितिका अध्यक्ष दलप्रसाद श्रेष्ठ, स्थानीय अगुवा कुलप्रसाद श्रेष्ठ, क्षत्री समाजकी अध्यक्ष लक्ष्मी कार्की, यूवा देबेन्द्र क्षेत्री लगायत बोल्न अधिकांस वडाबासीले बस्तीस्तरबाट आएका योजनामा समुदायको सहभागिता हुने, वास्तविक योजना निर्माण हुने, विवाद कम हुने भएकाले बजेट निर्माणमा वडाबासीको सुझावलाई कार्यान्वयन गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा प्राथमिक उपचार केन्द्र, सार्वजनिक शौचालय, यात्रु प्रतिक्षालय, सडक दुर्घटना न्यूनीकरण, सिसि क्यामेरा जडान, कृषि क्षेत्रमा गर्नुपर्ने भावि योजना, खेलकुदका विभिन्न सुझाव, पर्यटनको आकर्षक गन्तव्यको पहिचान लगाएतका विषयलाई महत्व दिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य वडासदस्य रमेश फगामी र वडा सचिव विनिता रेग्मीले सञ्चालन गरेकी थिईन् ।

Leave a Reply