“आमासमूहसँग उपमेयर कार्यक्रम” अन्तरगत बेनी नगरपालिका–९ गलेश्वरमा १५ दिने फेन्सी चप्पल बनाउने तालिम सम्पन्न भएको छ। बेनी नगरपालिकाको आयोजना, वडाको समन्वय र गलेश्वरधाम आमासमूहको संयोजनमा संचालित चप्पल बनाउने तालिम शनिबार सम्पन्न भएको हो ।

आमा समूहलाई परिचालन गरेर महिलाहरुको आर्थिक र सामाजिक शसक्तिकरण गर्ने उद्देश्यले आमा समूहसँग उपमेयर कार्यक्रम अन्तरगत गलेश्वरधाम लगायत तीन आमासमूहका २० जना दिदिबहिनीलाई चप्पल बनाउने तालिम दिएको गलेश्वर आमासमूहकी उपाध्यक्ष विन्दु कार्की पुर्जाले बताउनुभयो । उहाँले सहभागिले सात किसिमका चप्पल बनाउने सिप सिक्नुभएको जानकारी दिनुभयो । गत जेठ २६ गतेबाट सुरुभएको १५ दिनसम्मको चप्पल बनाउने तालिमको प्रशिक्षण सम्झना परियारले गुर्नभएको थियो ।

समापन कार्यक्रममा उपप्रमुख ज्योती लामिछानेले सामुहिक रुपमा सिकेको सिपलाई ब्यवसायीक रुपमा अघि बढाउन तालिममा सहभागि आमासमूहका सदस्यहरुलाई आग्रह गर्नुभयो । उहाँले सामाजिक हिंसा न्यूनिकरण गराउनका लागि पनि महिलालाई सिप सिकाएर आत्मनिर्भरको बाटोबाट समाजलाई अघि बढाउन सिपमूलक सहयोग पुग्ने बताउनुभयो ।

“परिवार देखि समाजको गरिवी न्यूनिकरण गराउनका लागि सिकेको सिपलाई ब्यवसायीकरण रुपमा अघि बढाएमा सहयोग पुग्छ। दिदिबहिनीलाई ब्यवसायीक रुपमा अघि बढाउन परिवारदेखि समाजको साथसहयोग हुनुपर्छ।”– उहाँले भन्नुभयो । “चप्पल बनाउने सिपमा ब्यावसायीक रुपमा अघि बढाउन यहाँहरुले सक्रियता देखाउनुभयो भने उद्योग स्थापना लगायतको कार्यक्रममा नगरपालिकाले अनुदान उपलब्ध गराउने छ ।

उत्पादन भएका बस्तुलाई बजारिकरणको लागि पनि साथ सहयोग रहनेछ ।” उहाँले महिलाहरुलाई सिपमार्फत आर्थिक सशक्तीकरण अभियान अघि बढाउनुभएमा आगामी बर्षमा क्षमता अभिवृद्धिका लागि थप तालिमको ब्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले “आमासमूहसंग उपमेयर कार्यक्रमलाई आगामी आर्थिक बर्ष निरन्तरता दिएर सबै वडाका महिलाहरुलाई समेट्ने योजना रहेको जानकारी दिनुभयो । नगरका सामाजिक विकास संयोजक एवम् वडानम्वर ९ का वडाअध्यक्ष चक्रबहादुर केसीले तालिमबाट प्राप्त सिपलाई ब्यवसायीक रुपमा अघि बढाउन आग्रह गर्नुभयो ।

उहाँले घरायसी कामको ब्यवस्थापन गरेर चप्पल बनाउने सिपलाई आम्दानीको प्रमुख आधार बनाएर अघि बढ्न सुझाव दिनुभयो । नगरले दिदिबहिनीहरुलाई आयआर्जनमा जोड्ने उद्देश्यले आगामी बर्षपनि सिपमूलक कार्यक्रमलाई निरन्तरता योजना रहेको जानकारी गराउनुभयो ।

त्यस्तै कार्यक्रममा गलेश्वरबजारबासी बालकुमार लामिछानेले समाजमा सवल र सक्षम बन्न उर्जावान समयमा सिकेको सिपलाई उद्योग संचालनमा प्रयोग गरेर आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । गलेश्वर स्थायी प्रहरी कार्यालयका असई विक्रम तिवारीले सिकेको सिपलाई निरन्तरतासंगै विस्तार गरेर दिदिबहिनीहरु आत्मनिर्भर बनेमा परिवारदेखि समाजका ९० प्रतिशत महिला हिंसा न्यूनिकरणमा सहयोग पुग्ने बताउनुभयो ।

तालिममा सहभागितर्फबाट बोल्नुभएकी रेखा केसीले सिकेको सिपलाई ब्यावसायीक रुपमा अघि बढाउने प्रतिवद्धता जनाउदै आगामी दिनमा सबैको साथ सहयोग र सक्रियता आवश्यक हुनुपर्ने बताउनुभयो । गलेश्वर आमा समूहकी उपाध्यक्ष पुर्जाको अध्यक्षता, सचिव निशा जिसीको संचालन र कोषाध्यक्ष मनु फगामीको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्रशिक्षक सम्झना परियार, आमासमूहकी सल्लाकार रविना भण्डारीले मन्तव्य राख्नुभएको थियो। तालिम सहभागिलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा वडानम्वर १० का वडाअध्यक्ष मसविर रोका, गलेश्वर र काउँलेगौडा आमासमूहका अध्यक्ष लगायतको उपस्थित रहेको थियो ।

Leave a Reply