नेपाल लघुवित्त बैंकर्स संघ म्याग्दीले शान्ति सुरक्षाको माग राख्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल लघुवित्त बैंकर्स संघ म्याग्दीका संयोजक रामु गौतम लगायतका पदाधिकारीहरूले म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्र राज पन्तलाई ज्ञापन पत्र बुझाउनुभएको हो ।

संयोजक गौतमले पछिल्लो केही समयदेखि केही व्यक्ति तथा समूहले लघुवित्त विरुद्धको संघर्ष समिति नामको समूहमार्फत संस्थाहरूको कार्यालयमा ताल्चा लगाउने, कर्मचारीहरू माथि हातपात गर्ने, लघुवित्त कार्यक्रम बन्द गर्न लगाउने र विभिन्न धम्की दिएर कर्मचारीहरूको मनोबल गिराउने जस्ता अराजक गतिविधि भइरहेको जानकारी गराउँनुभयो । उहाँका अनुसार संघले देशका ७७ वटै जिल्लामा कर्मचारीहरूमार्फत ज्ञापन पत्र बुझाएको छ ।

 

संघका पदाधिकारीले देशभर पछिल्लो समय घटेको घटनाले आम लघुवित्तकर्मी तथा नागरिकहरूमा त्रासको वातावरण सृजना भएको र त्यस्ता अराजक गतिविधिले देशको अर्थतन्त्रलाई नकारात्मक प्रभाव पारिरहेकोले त्यस्ता समूहका कार्यक्रमलाई बन्द गराई लघुवित्तकर्मीहरूलाई तत्काल शान्ति सुरक्षा कायम गर्न माग गर्दै सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट नै ज्ञापन पत्र बुझाइएको संयोजक गौतमको भनाइ छ । सहायक प्रमुख जिल्ला अधिकारी पन्तले म्याग्दीमा शान्ति सुरक्षा कायम गर्न प्रतिवद्ध रहेको भन्दै उहाँले लघुवित्तकर्मीहरूलाई कार्यक्षेत्रमा खट्न आग्रह गर्नुभयो । म्याग्दीमा १५ वटा भन्दा बढी लघुवित्त संस्थाहरु रहेका छन् ।

Leave a Reply