म्याग्दीको मंगला गाउँपालिका-२ ताराखेतमा जोखिमपूर्ण सडकलाई ढलान गरेर स्तरोन्नती गरिएको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाबाट विनियोजन भएको रु ५० लाख बजेटबाट ताराखेत-सल्यान-भर्जुला-हिदी सडक अन्तरगत ताराखेतका उकालोको जोखिमपूर्ण सडकलाई स्तरोन्नती गरिएको हो । बेनी–बावियाचौर सडकखण्डको ताराखेतकोको चोक नजीकैबाट उकालोमा २०५ मिटर सडक ढलान गरिएको उपभोक्ता समितिका अध्यक्ष सुसन किसानले जानकारी दिनुभयो । ‘यहाँ दुर्घटना भएर समेत ज्यान गएको छ, अहिले आवतजावतमा सहज छ‘ किसानले भन्नुभयो ।

सडकमा मेसिनरी पर्खाल र नाली समेत निर्माण गरिएको छ भने घुम्तीमा जोखिम न्यूनिकरण गर्न पर्खाल लगाइएको छ । सडकलाई ६ देखि ७ मिटर फराकिलोमा ढलान गरेपछि गाउँपालिकाको केन्द्र बावियाचौरदेखि सल्यान, भर्जुला, हिदी लगायतका स्थानका सर्वसाधारणलाई राहत भएको छ । यो सडक मंगलाको वडा नम्बर १ र २ का गाउँबस्तीलाई गाउँपालिकासंग जोड्ने सडकको रुपमा चिनिन्छ । पहिले सडक जिर्ण हुँदा दुर्घटना समेत भएको ठाउँमा ढलान गरेपछि सडकमा सहज रुपमा सवारी साधन आवत जावत गर्न सक्ने भएको वडा सदस्य ओमकार शेरपुञ्जाले बताउनुभयो । ढलान गरिएको सडक आसापसमा केही महिना अगाडी दुर्घटना हुदाँ एक महिलाको ज्यान गएको थियो भने मोटरसाइकल लगायतका अन्य सावारीसाधन समेत आवतजावत गर्दा सामान्य दुर्घटना हुने गरेको थियो । उक्त सडकखण्डको अन्य जोखिमपूण स्थानमा समेत ढलान गरेर स्तरोन्नतीको योजना रहेको वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रबक्ता एकजित रोकाले बताउनुभयो । उहाँले वडाभित्रका जोखिमपूर्ण मानिएका सडकहरु वडास्तरका योजनामा समेत प्राथमिकतामा राखिएको छ ।

 

Leave a Reply