बेनी नगरपालिकाले आगामी आर्थिक वर्षदेखि कित्ता काट खुलाउने गरी नगरभित्रको जग्गा वर्गीकरण सम्पन्न गरेको छ। आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउने गरी  जग्गा वर्गीकरणलाई कार्यपालिकाबाट निर्णय गरेर १३ औँ नगरसभाबाट अनुमोदन गरिएको नगरप्रमुख सुरत केसीले बताउनुभयो ।

नगरप्रमुख केसीका अनुसार, अनुमोदन गरेको जग्गा वर्गीकरण सहितको निर्णयलाई विभागमा लगेर स्वीकृत प्रश्चात अनुमति लिएर आगामी आर्थिक वर्षदेखि नगरभित्र कित्ता काट सुरु गरिने बताउनुभयो ।

“जग्गाको कित्ता काट रोकिएका कारण नगरवासीलाई निक्कै समस्या भएको छ । आगामी आर्थिवर्षदेखि कित्ता काट सुरुभएपछि वित्तीय संस्था र व्यक्तिलाई जग्गा किनबेचमा सहज हुने छ ।”– उहाँले भन्नुभयो । “ जग्गाको कित्ताकाट शुरु भएपछि जग्गाको विक्री वितरण बढेसँगै नगरका राजश्व असुलीमा वृद्धि हुने छ ।”

आगामी वर्षदेखि कित्ता काट सुरु गर्ने गरी भू–उपयोग नीति अनुसार बेनीमा आवासीय, कृषि, औद्योगिक, व्यावसायिक, खानी तथा खनिज क्षेत्र, वन, नदी, खोला, ताल सिमसार, सार्वजनिक उपभोग, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व र अन्य क्षेत्रमा गरिएको जग्गा वर्गीकरणलाई नगरसभाबाट पारित गरेको छ। नेपाल सरकारले नै जग्गाको वर्गीकरण गरेर मात्र कित्ता काट गर्नका लागि परिपत्र गरेपछि जग्गाको कित्ताकाटका लागि नगरपालिकाले यस बर्ष जग्गाको वर्गीकरण गरेको थियो ।

आगामी आवको नीति, कार्यक्रम तथा बजेट सम्बन्धी जानकारी गराउने उद्देश्यले गरेको पत्रकार सम्मेलनमा नगरपालिकाले आगामी आर्थिक वर्षमा ४ करोड ५४ लाख रुपैयाँ राजश्व अपेक्षा गरिएको केसीले बताउनुभयो । उहाँले जग्गाको कित्ता काट सुरु भएमा राजश्व समेत बढ्ने उल्लेख गर्नुभयो । उहाँले आगामी आवदेखि नगरपालिकामा सङ्घसंस्था दर्ता सुरु गर्ने गरी नगरसभाबाट  सङ्घसंस्था दर्ता ऐन पारित गरिएको जानकारी दिनुभयो ।

“शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, समृद्ध, बेनी नगरको मूल आधार” भन्ने नारासहित आगामी आवदेखि कार्यान्वयन गर्ने गरी कृषि उत्पादनमा वृद्धि : नगरको समृद्धि”, “एक वडा एक उत्पादन”, ”पशु उत्पादनमा बृद्धिः आर्थिक उपार्जन सहितको समृद्धि”, कृषि र पशुपालनलाई समेट्दै कृषकको उत्पादनको आधारमा अनुदान दिने अभियानमा नगरपालिका रहेको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताउनुभयो । नगरभित्रका पर्यटकीय सम्भावनालाई बलियो बनाउन “एक वडा एक पर्यटन परियोजना” पर्यटन गुरुयोजना बनाउने तयारी रहेको अधिकृत ढकालले जानकारी दिनुभयो ।

विद्यालयको दरबन्दी मिलान, एक विद्यालय एक नर्शसहित स्वास्थ्य सामाग्री, नगर खेलकुद समिति, ज्येष्ठ नागरिक र अपाङ्ग परिचयपत्र वितरणकलालागि घुम्ती शिविर आगामी आर्थिक वर्षदेखि प्रभावकारी रुपमा कार्यान्वयन गर्न कार्यविधि बनाइने  नगरले जानकारी दिएको छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा अपेक्षित सुधार ल्याउन मेयरसँग सामाजिक कार्यक्रमलाई निरन्तरता र ज्येष्ठ नागरिक र अपाङ्गलाई लक्षित गरेर घरघरमा स्वास्थ्यकर्मी अभियानलाई सञ्चालन गरिने पत्रकार सम्मेलनमा  अधिकृत ढकालले उल्लेख गर्नुभयो  । नगरवासीको गुनासो सुन्नकालागि हेल्लो मेयर कार्यक्रम हरेक महिनामा सञ्चालन गरिने छ । बेनी नगरपालिका प्रवक्ता एवम् वडानम्वर ७ का वडाअध्यक्ष रमेशकुमार श्रेष्ठले शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधार, कृषि, खेलकुद पर्यटन लगायतमा समेटिएको विषयवस्तु र बजेटबारे जानकारी गराउनुभएको थियो ।

Leave a Reply