बेनी नगरपालिका-७ कुरिलाखर्कका सुरेश ढुंगाना गण्डकी प्रदेशबाट उत्कृष्ट कृषि पुरस्कारबाट सम्मानित भएका छन् । म्याग्दीका अगुवा कृषक ढुंगाना लाई गण्डकी प्रदेश कृषि तथा भुमी ब्यवस्था मन्त्रालयबाट सार्वजनिक भएको उत्कृष्ट कृषकको सूचीमा म्याग्दीबाट ढुंगाना सम्मानित भएका हुन् ।

एक दशक खाडीमुलका विभिन्न देशमा विताएर स्वदेश फकिएपछि बि.स २०७० सालदेखि निरन्तर पशुपालनमा सक्रिय ढुंगानालाई शुक्रबार सम्मान गरिने छ । खाडी मुलुकको कतार, यूएई, बहराईन र साउदी अरवबाट फर्किएपछि एउटा भैंसी र गाई सहित करिब ५ लाख लगानीबाट पशुपालन सुरू गरेका ढुंगानाले अहिले रहरलाग्दो आम्दानी गरेका छन् ।

ढुंगान कृषि तथा पशुपालन फार्म दर्ता गरी बैदेशिक रोजगारीलाई बिट मारेर पशुपालन व्यवसायमा लागेका ढुंगानाले केही दिन अगाडी बेनी नगरपालिका वडा नं ७ बाट समेत उत्कृष्ट कृषकबाट समेत सम्मानित भएका थिए । ढुंगानाको फार्ममा अहिले स्थानीय र मुर्रा जातका दुहुना भैंसी, जर्सी गाई, बाच्छाबाच्छी गरी जम्मा ३५ वटा छन् । ३० वटा दुहुना गाईभैसीबाट दैनिक २ सय लिटरसम्म दूध उत्पादन हुन्छ । फार्म निर्माण र गाईभैसी खरिदमा ५ लाख लगानी गरेकोमा अहिले करिब १ करोडको संरचना छ । उनले ३ जनालाई रोजगारी समेत दिएका छन् ।

यसैबीच गण्डकी प्रदेशबाट सम्मानित हुने खवरले उत्साहित भएको ढुंगानाले बताए । ’सम्मानलाई मेहनतको फलको रुपमा लिएको छु,‘पशुपालनको क्षेत्रमा अझै लाग्न सम्मानले उर्जा थपिएको छ’ ढुंगानाले भने । उनले पशुपालनको क्षेत्रमा लाग्दा जिल्ला, प्रदेश र राष्ट्रियस्तरका सम्मानले थप अगाडी बढ्न आत्मबल मिल्ने बताए । गण्डकी प्रदेशले शुक्रबार विभिन्न विधाका ५ जनालाई सम्मान सहित पुरस्कृत गदैछ ।

Leave a Reply