म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको
जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा
कार्यक्रम र बजेट पारित गरेको छ ।
गाउँपालिकाको केन्द्र लामाखेतमा बिहिबार साँझ सम्पन्न १४ औ गाउँसभाको
तेस्रो बैठकबाट सर्वसम्मत रुपमा अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गरेको नीति तथा
कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको बजेट पारित गरेको हो ।
उपाध्यक्ष आचार्यले संघीय सरकारको रु. ४२ करोड १६ लाख पचास हजार, प्रदेश
सरकारको रु. दुई करोड ८१ लख २८ हजार, रु. दुई करोड १२ लाख २२ हजार
र चालु आर्थिक बर्षमा खर्च हुन नसक्ने गरी कुल रु. ४७ करोड १० लाखको बजेट
प्रस्तुत गर्नुभएको थियो ।
संघीय सरकारले दिने अनुदान घटेको र सर्वोच्च अदालतको आदेशका कारण मुख्य
आम्दानीको स्रोत कालीगण्डकीको बगर ठेक्का लगाउन नपाएका कारण
आम्दानीमा परेको असर बजेटमा देखिएको उपाध्यक्षको आचार्यको भनाई छ ।
गण्डकी प्रदेश सरकारको साझेदारीमा वडा नम्बर ८ को सडक निर्माणमा सबैभन्दा
बढी रु. दुई करोड र संघीय सरकारको साझेदारीमा धाईरीबको गण्डकी
गोपाल गौशाला निर्माणमा रु. एक करोड ६० लाख बिनियोजन भएको छ ।
गाउँपालिकाको अस्थायी संरचना र कोल्ड स्टोर भवन बनाउन जग्गा खरिदका लागि रु
. एक करोड ६० लाख बिनियोजन भएको छ । वडा नम्बर १, २, ३, ४, ६, ७, ८ ले
सिफारिस गरेका वडा स्तरीय योजनालाई लाई रु. ४०÷४० लाख, वडा नम्बर ५
लाई रु. ४५ लाख र ९ लाई रु. ३७ लाख बिनियोजन भएको छ ।
वडा कार्यालय भवनको बाँकी भुक्तानी दिन रु. १५ लाख, गाउँपालिका भैपरी
पूर्वाधार शिर्षकमा रु. २० लाख, वर्थीब सेन्टरको भवन निर्माण साझेदारीमा रु.
१४ लाख बिस हजार, एम्बुलेन्स सञ्चालन गर्न रु. ५ लाख, विपन्नको स्वास्थ्य बिमाका
लागि रु. नौ लाख, महिला स्वमसेविकालाई यातायात खर्च वापत रु. सात लाख असी हजार,
ग्राम प्रकाश माविमा बाली विज्ञान विषय पढ्ने विद्यार्थीको छात्रवृत्तिका लागि रु. तीन
लाख २४ हजार बिनियोजन भएको अध्यक्ष आचार्यले बताउनुभयो ।

गाईगोरु पाल्ने कृषकलाई अनुदान दिन रु. आठ लाख, पशु बिमाका लागि रु.
तीन लाख, कृतिम गर्भाधान अनुदान रु. दुई लाख, आलु खेतीको कार्यक्रमलाई
रु. ३५ लाख, विपद् तथा निजी आवास भुक्तानी रु. ४० लाख, रुपान्तरणीय सामाजिक
परिचालनद्धारा वडा विकास कार्यक्रमलाई रु. ३० लाख बिनियोजन भएको छ । दलित र
मगर संग्रहालय बनाउन रु. ५०÷५० लाख तथा आरन सुधार कार्यक्रमलाई रु. एक
लाख बिनियोजन भएको छ ।
नेकपा एमालेबाट निर्वाचित गाउँसभा सदस्यहरुको बिरोध र अवरोधका कारण दिनभर
तनावग्रस्त बनेर स्थगित भएको गाउँसभा सहमति जुटेपछि साँझ ७ बजेदेखि पुन सूरु
भएको थियो ।
जलजला गाउँ कार्यपालिकाका प्रवत्ता हरिबिकास जिसीले बिरोधमा उत्रिएका गाउँसभा
सदस्यहरुको माग अनुसार विद्याज्योती माविमा छात्रावास सञ्चालन गर्ने कार्यक्रमका
लागि गरिएको रु. ४० लाख, मल्लाजमा चिकित्सक नियुक्त गरेर सेवा सञ्चालनको
प्रस्तावित बजेट हटाउने र वडा विकास कार्यक्रमको बजेट घटाए पछि सहमति जुटेको र
गाउँसभा भएर सर्वसहमतिमा नीति तथा कार्यक्रम पारित र बजेट पारित भएको जानकारी
दिनुभयो ।
दिनभर तनावग्रस्त
यस अघि बोलाइएका पहिलो र दोस्रो वैठकमा गणपुरक संख्या नपुगेपछि गाउँसभा
सञ्चालन सम्बन्धी कार्यबिधी अनुसार बिहिबार बिहान १० बजे १४ औ गाउँसभाको
तेस्रो बैठक बोलाइएको थियो ।
पहिलो र दोस्रो बैठकमा उपस्थित नभएका एमालेका गाउँसभा सदस्यहरु तेस्रो
बैठकमा सहभागि भएका थिए । गाउँसभाका ४७ सदस्यहरु मध्य एमालेका २७ र
नेपाली काँग्रेस–नेकपा माओवादी केन्द्रका २० जना सदस्यहरु छन् ।
अध्यक्ष आचार्य र दुई जना वडा अध्यक्ष नेपाली काँग्रेसबाट निर्वाचित हुनुभएको
हो । उपाध्यक्ष दिपक आचार्य र दुई जना वडा अध्यक्ष माओवादी केन्द्रबाट
निर्वाचित हुनुहुन्छ । एमालेका पाँच जना वडा अध्यक्ष सहित कार्यपालिकाका बहुमत
सदस्य छन् ।
गाउँपालिकाले यही असार १० गते नीति, तथा कार्यक्रम र बजेट ल्याउनेगरी
गाउँसभाको बैठक आब्हान भएको थियो तर बहुमत गाउँसभाका सदस्य उपस्थित
नभएपछि जलजला गाउँपालिकाले असार १२ गते बैठक आब्हान गरेको थियो ।
उक्त बैठकमा पनि कोरम नपुगेपछि गण्डकी प्रदेश सरकारले बनाएको स्थानीय
सरकार सञ्चालन ऐन अन्र्तगत २५ प्रतिशतले पनि नीति तथा कार्यक्रम र बजेट

ल्याउनसक्ने प्रावधानलाई टेकेर गाउँपालिकाले बिहिबार गाउँसभाको बैठक
आब्हान गरेको थियो ।
गण्डकी प्रदेशको गाउँसभा÷नगरसभाको सञ्चालन सम्वन्धमा व्यवस्था गर्न बनेको
कार्यविधि २०७५ को दफा ६ को उपदफा १ बमोजिम गणपुरक संख्या नपुगेका
कारण गाउँसभा स्थगित भएको र सोही दफाको उपदफा २ र ३ बमोजिमको
प्रावधान बमोजिम बिहिबारको बैठक बोलाइएको थियो ।

अध्यक्ष आचार्यले गाउँसभा शुरु गर्ने तयारी गर्नासाथ एमालेबाट निर्वाचित
गाउँसभाका बहुमत सदस्यहरु उभिनुभएको थियो । वडा नम्बर ५ का अध्यक्ष तिलक
जिसीले नीति तथा कार्यक्रम र बजेट कार्यपालिका बैठकमा छलफल र पारित नगरी
गाउँसभा नचलाउन र प्रस्तुत नगर्न अध्यक्ष लाई अनुरोध गर्नुभयो । गाउँसभा
सदस्य र अध्यक्षबीचको सवाल जवाफ करिब ३० मिनेट चल्यो ।
अध्यक्षले पटक पटक अनुशासनमा रहेर मर्यादित भएर प्रस्तुत हुन अनुरोध
गरिरहनुभएको थियो । गाउँसभा सदस्यहरुले भने कार्यपालिका बैठकबाट पारित
नगरेसम्म नीति तथा कार्यक्रम र बजेट प्रस्तुत नगर्न अनुरोध गरिरहनु भएको थियो

बिरोधकै बीच अध्यक्षले झोलाबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गर्न
थालेपछि एमालेका कार्यपालिका र गाउँसभा सदस्यहरु रोष्ट्रमा पुगेर खोस्ने प्रयास
गर्नुभयो । गाउँसभाको हल तनावग्रस्त बनेको थियो । एमालेका गाउँसभा सदस्यहरु
ले कुर्चि उचालेर फाल्ने, माइक खोस्ने, टेबुल फुटाउने र ध्वजापटका च्यातेका
थिए ।
अध्यक्ष र उपाध्यक्षको हातबाट नीति तथा कार्यक्रम र बजेट बक्तब्य खोस्न
गएका गाउँसभा सदस्यहरुलाई नगर प्रहरी र जनपद प्रहरीले रोकेका थिए । करिब
डेढ घण्टासम्म सदस्यहरुले बिरोध र अध्यक्षले सम्झाउने प्रयास जारी रह्यो ।
त्यसपछि केही समयका लागि भनेर अध्यक्षले साढे १ बजे स्थगित गरेको बैठक साँझ
७ बजेपछि चलेको थियो । सभास्थलमा दुईपक्षीय बार्ता र छलफल जारी गरिरहँदा
सभाका सदस्य, कर्मचारी र सुरक्षाकर्मीहरु भित्र बाहिर गरिरहेका थिए ।
बिहिबारको वैठक स्थगित गरेर कार्यपालिकामा छलफल गरेर मात्र गाउँसभामा पेस
गर्नुपर्ने अडानबाट बहुमत सदस्य पछि हटेका र बजेट, नीति तथा कार्यक्रम

संसोधन गरेर वडा समितिले सिफारिस गरेका योजनामा बाँड्ने बजेटको सिमा
प्रस्तावित भन्दा रु. दश, दश लाख बढाउन अध्यक्ष उपाध्यक्ष तयार भएपछि सहमति
जुटेको थियो ।
बिहिबार विहान एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले पत्रकार सम्मेलन गरेर
अध्यक्ष आचार्यले एकलौटी ढंगले नीति तथा कार्यक्रम र बजेट ल्याउन
खोजेको आरोप लगाउँदै गाउँसभालाई यथास्थितिमा अघि बढ्न नदिने जानकारी
गराएका थिए ।
जनप्रतिनिधिहरुको विवादका कारण संविधानले तोकेको असार १० गते भित्र बजेट
ल्याउन सकेन् । संविधानले तोकेको समयमा बजेट ल्याउन नसक्दा जलजला
गाउँपालिकाले पाउने अनुदान कटौति हुने र कार्यसम्पादन मूल्याबमा असर पर्ने
देखिएको छ ।

Leave a Reply