म्याग्दीमा ‘लम्पी स्किन’ बाट एक हजार ६ सय ६९ गाईगोरु र भैंसी बिरामी परे पछि यहाँ संचालित चीज उद्योग बन्द गरिएको छ । पछिल्लो पटक अन्नपूर्ण गाउँपालिकामा यो रोग तिब्र रुपमा फैलिएको छ । गाई भैंसी विरामी भएकाले यस क्षेत्रमा संचालित हिमालयन चीज उद्योग बन्द गर्नुपरेको स्थानीय टेक बहादुर खड्काले बताउनुभयो ।

उहाँका अनुसार गोरु बिरामी परेका र मरेका कारण मुख्य खाद्यबाली धान रोपाई प्रभावित भएको छ । गाईहरु बिरामी भएपछि घारमा सञ्चालित चिज उद्योग पनि बन्द भएको छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु सेवा प्राविधिक गणेश रिजालले जिल्लाका ६ वटै स्थानीय तहमा लम्पी स्किन फैलिएको बताउनुभयो ।

गाई, गोरु, बाच्छा र बाच्छीमा देखिएको यो रोग पछिल्लो समय मंगला गाउँपालिकामा एक वटा भैसीमा पनि लम्पी स्कीन भेटिएको उहाँले जानकारी दिनुभयो । केन्द्रको तथ्याङ्क अनुसार, बेनी नगरपालिकामा ८१, मंगला गाउँपालिकामा ५०, मालिकामा ४३, धवलागिरीमा एक सय ५४, रघुगंगामा चार सय ६१ र अन्नपूर्णमा आठ सय ८० पशुमा लम्की स्किन देखिएको छ ।

लम्पी स्किनबाट बेनीमा ९, मालिकामा ४, धवलागिरीमा ४, रघुगंगामा २९ र अन्नपूर्णमा ७४ पशु मरेका छन् । १३ वटा बाच्छाबाच्छी, ३६ वटा गाई, ७१ वटा गोरु मरेका केन्द्रले जनाएको छ । म्याग्दीमा लम्पी स्किन देखिएका मध्य ७.१९ प्रतिशत पशु मरेका छन् । वि.स. २०७९ चैत १३ गते रघुगंगा गाउँपालिकामा जिल्लामा पहिलो पटक यो रोग देखिएको थियो ।
ज्वरो आउने र शरिरका फोका देखा पर्ने, पछि झोक्राउँदै जाने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने गरेका छन् । यो रोग हावाका माध्यमबाट सर्ने बताइएको छ ।

प्रदेश सरकारबाट प्राप्त भएको लम्पी स्किनबाट बिरामी भएका पशुलाई खुवाउने एन्टिबायोटिक औषधी स्थानीय तहहरुलाई उपलब्ध गराएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख रामकृष्ण सुवेदीले बताउनुभयो ।

Leave a Reply