गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा म्याग्दी सधै उपाधीको भारी बोकेर फर्किने गरेको छ। पछिल्लो एक दशक यता भएको साविकको पश्चिमाञ्चलस्तरीय, राष्ट्रपति रनिङ शिल्डका साथै गण्डकी प्रदेशस्तरका विभिन्न खेलमा महिलातर्फ म्याग्दीले उपाधीमा सधै कब्जा जमाउने गरेको छ ।

यसैक्रममा गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा पोखरामा शनिबार सम्पन्न फाइनल खेलमा पर्वतलाई दुईका विरुद्ध तीन सेटले पराजित गर्दै म्याग्दीले उपाधि चुम्न सफल भएको हो । पोखरा रंगशालामा भएको फाइनलमा म्याग्दीले पर्वतलाई पहिलो, चौथो र पाँचौ सेटमा क्रमश ः २५–१६, २५–१७ र १५–११ को अन्तरले पराजित गरेको हो । दोस्रो र तेस्रो सेटमा पर्वतसँग म्याग्दी २५–२१ र २५–१७ को अन्तरले पराजित भएको थियो ।

विगतमा अरुणा शाहीको नेतृत्वमा मैदानमा उत्रिने गरेको म्याग्दी यसपटक अरुणा बेलायतको भ्रमणमा रहेको अवस्थामा म्याग्दीका टिम क्याप्टेन पवित्रा सिर्पालीको नेतृत्वमा मैदानमा उत्रिएको थियो । सिर्पाली क्षेत्रीय तथा राष्ट्रियस्तरका खेलमा उत्कृष्ट खेल देखाउने म्याग्देली खेलाडी समेत हुन् । उनी गण्डकी प्रदेशबाट समेत राष्ट्रिय खेल खेलेकी छन् । प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्लाको सहभागिता रहेको प्रतियोगितामा बिजेता र उपबिजेताले क्रमश एक लाख र सत्तरी हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए ।

म्याग्दीको टिममा मनिषा तिलिजा, रेजिना घर्ती, सस्मिता पुन, सृजना पाईजा, एलिसा रोका, पवित्रा सिर्पाली, अनिषा रोका, युमना बुढा, माया तिलिजा र काजल छन्त्यालले खेलेका थिए । म्याग्दीको टिमको प्रशिक्षक मलिन रोका र व्यवस्थापनको जिम्मेवारी जिल्ला भलिबल संघका कार्यवाहक अध्यक्ष खड्क केसी सहितको टोलीको निरन्तर हौसलाले समेत उपाधी जित्न सहज भएको बताइएको छ ।सेमिफाइनल खेलमा म्याग्दीले बागलुङलाई पराजित गर्दै पर्वतसँग फाइनलमा भेट पक्का गरेको थियो ।

बिजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका सामाजिक तथा स्वास्थ्य मन्त्री शुशिला सिम्खडा, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली (सुविन) लगायतले पुरस्कार वितरण गरेका थिए । महिला भलिबल, बास्केटबल तथा मार्सल आर्टका विभिन्न विधामा म्याग्दीको टोली उपाधीविहिन भएर फर्किने गरेको छ ।

 

 

Leave a Reply