म्याग्दीको मालिका गाउँपालिका-३डाँडागाउँ आसपासका क्षेत्रबाट बग्ने टिमुरेखोलाको ट्राउट माछाको माग ह्वात्तै बढेको छ । ठाडो खेलामा बगीरहने सग्लो र चिसो पानीलाई सदुपयोग गदैं विदेशबाट फर्किएका तीन यूवाले सुरु गरेको रेन्बो ट्राउट माछाको उत्पादनभन्दा धेरै माग छ ।

१० बर्ष कतार र मलेसियामा बसेका पूर्णबहादुर रोका, बहराइनबाट फर्किएका तेजेन्द्र बुढा र कतारमा २ बर्ष पसिना बगाएर गाउँ फर्केका हरिबहादुर रोकाले संयुक्त लगानीमा सुरु भएको माछापालनको बजार विस्तारले माग धान्न समेत हम्मेहम्मे परेको छ । माछाको बजार दरबाङ, तातोपानी, सदरमुकाम बेनीबजार र रत्नेचौरसम्म रहेको पूर्णबहादुर रोकाले बताए ।

‘नियमित बजारमा जान थालेपछि रेस–वे पोखरी थपिएको छ,‘होटलहरुमा नियमित जान थालेको छ’ रोकाले भने । प्रतिकेजी १२ सयमा बजारसम्म लगेर बिक्री गर्ने गरिएकोमा बर्खाको समयमा सडक सञ्जाल अवरुद्ध हुदाँ ढुवानीमा समस्या भएपनि बजारमा नियमित ग्राहकको संख्या बढेकाले उत्पादनलाई बजारको अभाव नभएको बताए ।

खहरेखोला नजिकै बनाइएको पोखरीमा १ सय माउ र १२ हजार भुरा छन् ।यसैबर्षदेखि बजारमा जान थालेको माछा बैशाख महिना यता दुई क्लिन्टर बिक्री भइसकेको हरिबहादुर रोकाले बताए । ’सिंगा तातोपानीबजारमा धेरै माग छ,’कहिलेकाँही बागलुङबाट पनि माग आउँछ‘ रोकाले भने ।

दुईवटा पोखरीमा परीक्षणका लागि माछाको अण्डा ल्याएर सुरु भएको ब्यवसाय सोचेजस्तै उत्पादन भएपछि लगानी समेत थपेका छन् । हावापानी पनि उपयुक्त भएको र उत्पादनलाई बजारमा बिक्रीसँगै खोलाको छेउमै बसेर माछा विशेष परिकार खुवाउने गरी रेष्टुरेन्ट सञ्चालनको योजनामा समेत लागेका छन् । माछापालनलाई मालिका गाउँपालिका र स्याङ्जामा रहेको मस्त्य विकास केन्द्रले समेत अनुदान सहयोग गरेपछि सहज भएको छ ।

माछाको माग अनु्सार थप जग्गा लिजमा लिएर पोखरी थप गर्ने र बार्षिक दुई टनभन्दा बढी माछा बिक्री गर्ने लक्ष्य रहेको रोकाले बताए । ट्राउट माछा लोकप्रीय र सबैको रोजाइ रहने माछा हो। खानमा स्वादीलो, बीच बाहेक काँडा नहुने र प्रोटिन युक्त पोषिलो माछाका रुपमा ट्राउट लिने गरिएको छ ।

यता भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दीका निमित्त प्रमुख रामकृष्ण सुवेदीले चिसो र बहाव भएको पानीमा पालन गर्न सकिने रेन्बो ट्राउट माछालाई पालनका लागि सबैभन्दा राम्रो माछाको रुपमा लिने गरिएको बताए ।

‘सफल भएका माछापालकको पोखरीको अनुगन गरेपछि अन्यले पनि सुरु गर्न थालेृका छन्,‘चिसो पानीमा पालिने भएका कारण यसको स्वाद विशिष्ट किसिमको हुन्छ’ निमित्ति प्रमुख रेग्मीले भने ।रेन्बो ट्राउट माछा शून्यदेखि २१ डिग्री सेन्टिग्रेड तापक्रममा बाँच्न सक्छ । यसको राम्रो वृद्धिका लागि १० देखि २० डिग्री सेन्टिग्रेड उपयुक्त मानिन्छ, उक्त हावापानी खहरेखोला र बाह्ै महिना चिसो भएको क्षेत्रमा रहेकाले त्यहाँ माछापालक सफल भएको बताए ।

Leave a Reply