हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङस्थित दुई गाउँपालिकाले आज सोमबार सम्पन्न हुने मुस्ताङी राजाको छोराको बिहे उत्सवमा सार्वजनिक विदा दिएका छन् । आइतबार बसेको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाले मुस्ताङी सांस्कृतिक राजा भिग्मे सिङ्गे पलवर बिष्टका ज्येष्ठ सुपुत्र रानकुमार झिग्मी धिण्डुप फुन्छोक पलवर बिष्टको शुभ-विवाह उत्सव मनाउन विदा दिएका हुन् ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट, लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले राजसंस्था उपल्लो मुस्ताङको पहिचान भएकाले उत्सवमा विदा दिएको बताए । गाउँपालिकाले राजकुमारको बिहेको दिन गाउँपालिका कार्यालय, पालिका मातहतका संम्पूर्ण कार्यालयहरु र शिक्षण संस्था एकदिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

मुस्ताङी राजा मान्ने प्रचलन पन्ध्रौ शताब्दीदेखि सुरुवात भएको हो ।हालका बर्तमान मुस्ताङी सांस्कृतिक राजा भिग्मे सिङ्गे पलवर बिष्ट २६ औं पुस्ताको हुन्। उनका दुई छोरा र एक छोरी छन् ।नेपालीले मुस्ताङ भनेर चिनिने तथा तिब्बती भाषामा लो भनेर चिनिने नेपालको हिमाली भूभागमा १४औ शताव्दीमा नै राज्य स्थापना भएको थियो ।

पृथ्वीनारायण शाहले १८०१ मा नुवाकोट बिजय गरेपछि गोरखा राज्य बिस्तारको अभियानको शुरुवात गरेपछि मुस्ताङ राज्य नेपाल राज्यमा समाहित भए पनि राजा वाङ्ग्याल दोर्जेले स्थानिय सांस्कृतिक राजाका रुपमा मान्यता पाइरहेका थिए । बि.सं. १८५४ मा राजा वाङ्ग्याल दोर्जेको देहान्त पछि जेठो छोरा क्राठी न्यिङपो राजा बनेका इतिहास छ । राजा नरहे पनि मुस्ताङका जनताका मन मस्तिष्कमा सधै राजाका रुपमा नै रहिरहेको छ । २०७३ पुस १ गते मुस्ताङका जनताका मनमा रहेका राजा जिग्मे परवल विष्टको देहावसान भएको थियो ।
तस्वीर सौजन्य सुन्दर थकाली ।

Leave a Reply