हरेक वर्ष म्याग्दीको २५ लाख टनभन्दा बढी माटो बगेर जाने गरेको पाइएको छ । भूक्षयका कारण जिल्लाको २५ लाख १५ हजार सात सय ६० दशमलव २० टन माटो बगेर जाने गरेको म्याग्दीमा आयोजिक एक कार्यक्रममा बताईएको छ ।

भू–तथा जलधार व्यवस्थापन कार्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै भू–संरक्षण अधिकृत शम्भुकुमार मिश्रले बाढी पहिराले २ हजार ५ सय १० घर प्रतक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित रहेको उहाँको भनाई थियो । बाढीपहिरो र कटानको जोखिम नियन्त्रणको लागि वार्षिक आउने निवेदन मध्ये १० प्रतिशतको निवेदनको सम्बोधन गर्न सकिएको बताउनुभयो ।

संरक्षणमुखी विकास पूर्वाधारहरु निर्माण तर्फ ध्यान नदिदा पहिरो, कटान र भू–क्षयको समस्या म्याग्दीमा बढ्दै गएको सरोकारवालाहरुले धारणा राखेका छन् । भू–तथा जलाधार कार्यालयका बरिष्ठ जलाधार ब्यवस्थापन अधिकृत दिवाकर पौडेलले वातावरणीय प्रभाव मूल्यांकन नगरी निर्माण हुने गरिएका मानवबस्तीसंगै उर्वर भूमिको कटान, पहिरो एवम् भू–क्षयको जोखिम बढ्दै गएको बताउनुभयो ।

म्याग्दी, पर्वत, बागलुङ, स्याङ्जा र मुस्ताङ हेर्ने गरी पर्वतमा रहेको यस कार्यालयले सदरमुकाम बेनीमा स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाबीच भएको समन्वय गोष्टीमा भिरालो भू–बनोट रहेको म्याग्दीमा विनाशमुखी सडक र मानविय क्रियाकलापको कारण भूमिगत जलप्रवाहले खेती योग्य जमिन र मानव बस्तीको संरचनामा समेत क्षति बढ्दै गएको बताउनुभयो । योजना नबनाई हुने मानविय गतिविधि तथा प्राकृतिक कारणले पछिल्लो तीन वर्षमा म्याग्दी, पर्वत र बागलुङमा बाढी पहिरोले एक सय २० जनाको ज्यान गएको समेत पौडेलले सुनाउनुभयो ।

विना योजना हुने सडक निर्माणको क्रममा निस्किएको कच्चा पदार्थ नदी र खोलामा फाल्ने, भल व्यवस्थापन लागि नाली निर्माण नगर्दा खेती योग्य जमिनको उत्पादकत्व घट्दै जानुका साथै भौतिक तथा मानविय क्षती पनि थपिने क्रम बढेको उहाँले सुनाउनुभयो ।

भूक्षयको उच्च जोखिम रहेको म्याग्दीमा कार्यालय खारेज हुँदा जोखिम पहिचान, सावधानी र व्यवस्थापनमा समस्या देखिएको जिल्ला समन्वय समितिका म्याग्दीका प्रमुख राजकुमार थापाले बताउनुभयो । उहाँले संघ र प्रदेशले जनताको आवश्यकता अनुसार योजनाहरु छनोट गरेर बजेट विनियोजन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा रघुगंगा गाउँपालिकाका प्रेमबहादुर कार्कीले वातावरणीय प्रभाव मूल्याकंन विना निर्माण भएका सडकले म्याग्दीमा मानविय बस्ती र उर्भर भूमिमा बढी क्षति पु¥याएको भन्दै भूक्षयको समस्या भएको ठाउँमा संघ, प्रदेश सरकारले संरक्षणका लागि बजेट विनियोजन नगरेको बताउनुभयो । रघुगंगा गाउँपालिकाभित्र १२८ पहिरोमध्ये २८ वटा ठुला पहिरो रहेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गोष्ठीमा उल्लेख गर्नुभयो ।

जिल्लाका ६ वटै स्थानीयतहका प्रमुख उपप्रमुखहरुको सहभागिता रहेको गोष्टीमा आ–आफ्नो स्थानीयतहमा भएका समस्याको पहिचान गरिएको भए पनि उचित बजेट बिनियोजन हुन नसक्दा समाधान गर्न नसकिएको बताइएको थियो ।

Leave a Reply