बाईसे चौबिसे राज्यहरूमा ताकम राज्य बिक्रम सम्बत १२४६ तिर प्रथम थापा राजा कालु थापाले स्थापना गरेका थिए । हाल पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ७ मा अवस्थित ताकम राज्य पर्वतराज्य अन्तरगत पर्दथ्यो। स–ससाना राज्यहरू ताकम राज्य शत्तिशाली मध्येको एक मानिन्थ्यो ।अग्लो भू–भागमा दुस्मनबाट जोगिने गरी स्थापना गरिएको ताकम राज्यलाई चारहजार पर्वतको रुपमा समेत चिनिन्छ ।

थापाहरुले ३ सयभन्दा बढी बर्ष शासन गरेको राज्य बि.सं. १५४५ मा कर्णाली प्रदेशका मल्ल राजा आनन्द बम मल्लका नाति डिम्ब बम मल्लले थापाहरुलाई हराइ ताकम राज्यलाई आपनो राज्यमा गाभी बर्तमान धौलागिरी अञ्चलका सवै जिल्लाहरु समेटिएको तत्कालिन विशाल पर्वत राज्यको स्थापना गरेको थापा वंशावलीमा उल्लेख गरिएको छ । पश्चिम म्याग्दीको प्रसिद्ध धार्मिकस्थल ताकम कोत सहितका अग्ला डाँडामा अहिलेपनि बाईसेचौविसे राज्यका पालाका भग्नाबसेसहरू भेटिन्छ ।

कालु थापाका ४ भाइ छोराहरुले वावुसँग मिलेर आफ्नो बाहुबलले र बुद्धिले ४ वटा छुट्टाछुट्टै राज्य खडा गरेका थिए । जेठालाई पुला(म्याग्दी),माइलालाई ताकम(म्याग्दी), साइलालाई रुकुमकोट र कान्छालाई ज्यामरुककोट(म्याग्दी) राज्य भागवण्डामा परेका थिए । थापाहरुको राजकाज वि.सं. १२४६ देखि वि.सं. १५४५ सम्म करिब ३ शताब्दी २९९ वर्ष सम्म चल्यो ।थापा वंशका ७ पुस्ताले राज्य गरेका थिए ।

नेपालको एकीकरणको अभियानमा अग्रणी भूमिका निभाउने महायोद्धा वीर अमरसिंह थापा, फिरङ्गीको बक्रदृष्टिबाट मातृभूमिलाई बचाउने मूख्तियार भीमसेन थापा र इमान्दारीका प्रतिमूर्ति नेपालका प्रथम प्रधानमन्त्री माथवरसिंह थापाको पुख्र्यौली थलो म्याग्दी जिल्लाको यही पृष्ठभूमि भएको बताइन्छ ।

बडाकाजी अमरसिंह थापा, मूख्तियार तथा कमाण्डर–इन–चिफ भीमसेन थापा र नेपालका प्रथम प्रधानमन्त्री माथवरसिंह थापा यही थापा वंशका हुन् थापाहरुको संयुक्त राज्यलाई ४ हजार पर्वतको नामले चिनिन्थ्यो । थापा राज्यको पाला “४ हजार पर्वतबाट शुरु भएको पर्वतको घरधुरी संख्या मल्ल राजाहरुका पालामा “८ हजार पर्वत, १६ हजार पर्वत हुँदै २० हजार पर्वत” सम्म पुगेको पाइन्छ । थापाहरुको राज्य हिमाल, पहाड र पर्वतले परिवेष्ठित थियो ।

विक्रमको तेह्रौं शताब्दीको मध्यतिर स्थापित थापा राज्यहरु मध्ये ताकमकोट सबैभन्दा शक्तिशाली थियो । ताकमकोटको पश्चिम र उत्तरतिरको सीमाना रुकुम डोल्पासम्म पुगेको थियो । बाईसेचौविसे राज्यकै पालामा डिम्वबमले आफ्ना सैनिक सहित ताकमकोट दरबारमा प्रवेश गरी थापा राजाको राजगद्दी कब्जा गरेपछि थापाहरुको पुलाकोट र ज्यामरुककोट राज्यहरु पनि डिम्बका राज्यमा विलय भए ।

नेपालका विभिन्न भु–भागसँगै विदेशमा रहेको बगाले थापाले बाईसेचौविसे राज्यका पालामा ताकम आसपासका क्षेत्रको अभिलेख संकलन तथा संरक्षणमा समेत जुटेका छन् । भीमबहादुर थापाले संकलन गरेको इतिहारमा हाल म्याग्दीको सदरमुकाम बेनीसम्म तत्कालिन राज्यको कनेक्सन रहेको थियो। पर्वत राज्यको एक भागको रुपमा रहेको म्याग्दीमा तत्कालिन समयमा मल्लराजाका चौध पुस्ताले शासन गरेकोमा अन्तिम मल्ल राज्य किर्तीबम मल्लले पुलामी बानियाँहरुको नाममा बि.सं १८३६ मा गरिदिएको ताभ्रपत्रमा राजा–९ स्पष्ट रुपमा अंकित भएको हुदा मल्ल बंशका ९ वटा राजाले मात्र तत्कालिन पर्वत राज्य समालेको भएको इतिहासकारहरूद्धार प्रकाशित पुस्तकमा उल्लेख छ ।

राजा किर्तीबम मल्लले बर्तमान म्याग्दीमा पर्ने ढोलठानामा दरबार खडा गरि बसेको र वेनीमा ठाना राखेको थिए भनिन्छ । अहिलेपनि बाईसेचौविसे राज्यका बारेमा चर्चा आउँदा म्याग्दीमा रहेका राज्यहरूमध्येमै ताकम राज्यको चर्चा धेर हुन्छ । हजारौं बर्ष पूरानो इतिहास बोकेको राज्यको इतिहास जगाउन बगाले थापाहरुको कुलपितृ तीर्थस्थल मानिने ताकम धारापानीमा अहिले निशानघर सहितको आधुनिक संरचना बनेको छ । जिल्लाको क्षेत्रफल विस्तार गनेृ क्रममा २०३२ सालमा पर्वत र मुस्ताङ जिल्लाबाट २० वटा गाउँ पञ्चायतहरु म्याग्दीमा गाभिएको थियो । राज्यको पुर्नसंरचनापछि म्याग्दीका ४० गाविसलाई एक नगरपालिका र पाँच गाउँपालिकामा विभाजन गरिएको छ भने जिल्लामा कुल ४५ वडा कायम गरिएको छ ।
सन्दर्भ सामग्री :
चन्द्रप्रकाश बानियाँ, ऐतिहासिक पर्वत राज्य
कर्णबहादुर बानियाँ, नेपालको इतिहासमा उजिरसिंह थापाको योगदान

Leave a Reply