बेनी : म्याग्दीको नारच्याङमा १६ अर्ब रुपैयाँको लागतमा निर्माणाधीन १०९ मेगावाटका दुई जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा नीलगिरि जलविद्युत् आयोजनाले निर्माण गर्न लागेको ३८ मेगावाटको नीलगिरि पहिलो र ७१ मेगावाटको नीलगिरि दोस्रो गरी १०९ मेगावाट क्षमताको नीलगिरि जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ।

आयोजनाका आवासीय इन्जिनियर रत्न बमजन तामाङले दिएको जानकारीअनुसार असार दोस्रो सातासम्म दुवै जलविद्युत् आयोजनाको ८२ प्रतिशत निर्माण सम्पन्न भएको छ।

नीलगिरि खोला हाइड्रोपावरले चार वर्षअघि एकैसाथ निजी क्षेत्रको लगानीबाट दुवै आयोजनाको निर्माण सुरु गरेको थियो। यो जिल्लामै ठूलो आयोजना हो। आयोजनाका अनुसार दुवै आयोजनाको बाँधस्थल, सुरुङ खन्ने र विद्युतगृह् निर्माण काम सकिएको छ।

नीलगिरि पहिलोको २ हजार मिटर र दोस्रोको ४ हजार २ सय मिटर सुरुङ खनेर ढलानको काम थालिएको आयोजनाका तामाङले जानकारी दिए। पेनस्टक टनेल खन्ने काम सकिएर पहिलोको ८ सय मिटर र दोस्रोको १ हजार ५ सय मिटर पेनस्टक पाइप जडानको काम थालिएको तामाङले बताए।

तामाङका अनुसार नीलगिरि पहिलोको विद्युत् गृहबाट निस्कने पानीलाई बाँध बनाएर नीलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना बनाइएको छ। नीलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युत् गृह निर्माण गरिएको छ। क्यासकेडको विद्युत् गृहदेखि नीलगिरि पहिलोको बाँध हुमखोलासम्म १४ किलोमिटर पहुँचमार्ग निर्माण गरिएको छ।

करिब १६ अर्ब लागत अनुमान गरिएका दुवै आयोजना ‘रन अफ द रिभर’ प्रकृतिका हुन्। नीलगिरि खोलाबाट उत्पादित बिजुली २२० केभीए क्षमताको दाना सब स्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिनेछ।

छोटेपा–दोबिल्ला हुँदै दाना सब स्टेशन जोड्ने ८.५ किलोमिटर दूरीको २२० केभी क्षमताको प्रशारण लाइन निर्माणका लागि २४ वटामध्ये २३ वटा टावर निर्माण गरी तार तान्ने काम सकिएको आयोजनाले जनाएको छ।

भौगोलिक विकटता भए पनि आयोजना निर्माणले तीव्रता पाएको उनले बताए। आगामी ६ महिनाभित्र दुवै आयोजना एकसाथ सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ। आयोजनामा अहिले प्राविधिक जनशक्ति र मजदुर गरेर करिब पाँचसय जना परिचालित छन्।

यी दुई आयोजना नारच्याङको दुर्गम भेगमा पर्छन्। कठिन भीरपहरा छिचोले आयोजनाको निर्माणस्थलसम्म पुग्न सडक निर्माण गरिएको छ। भौगोलिक विकटताका कारण आयोजना सम्पन्न गर्न निकै चुनौती थियो।

आयोजनाका तामाङले भने, ‘हिमालको फेदीमा आयोजना निर्माण गर्नु हाम्रा सामु ठूलो चुनौती थियो तर हामीले सबै चुनौती र समस्यासँग जुधेर आयोजना निर्माण करिब अन्तिम चरणमा पुर्‍याउन सफल भएका छौं।’

Leave a Reply