म्याग्दीको मंगला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले झण्डै दुईदशक खाडीमुलुकमा विताए । यूएईमा ९,कुवेत ६ र मलेसियामा ३ बर्ष रोजगारी गरी घर फर्किएका बुढाथोकीको दैनिकी अचेल बाख्राको स्याहारसुसार र कृषि खेतीमा बित्छ ।

विदेशबाट फर्किएका बुढाथोकीले निर्वाहमुखी रुपमा मात्रै गरिने बाख्रापालनले आम्दानी नहुने थाहा पाएपछि सुरू गरेको बाख्रापालन अहिले गाउँभरी फैलिएको छ । बस्तीमुनीको अध्याँरो जस्तै रहेको खानीगाउँमा बुढाथोकीले सुरू गरेपछि गाउँका १७ जना कृषकले ब्यवसायीक बाख्रापालन सुरू गरेका छन् ।खानीगाउँमा दुईचारवटा बा्रखा रहेका हरेक घरमा अहिले बाख्राको ब्यवस्थित खोर समेत छ ।

‘सबै गाउँलेले बाख्रापालन सुरू गरेका छन्,‘चरनक्षेत्रको समस्या छैन, बाख्रा पालेर पैसा कमाउनुपर्छ भन्ने ज्ञान सबैमा छ’स्थानीय बाख्रापालक कृषक राजन राम्जालीले भने ।उनले बुढाथोकीको प्रेरणाबाट सिंगो गाउँ व्यावसायिक बाख्रापालनमा लागेको बताए ।

विदेशबाट फर्किएका यूवाको सक्रियतामा अनुदान सहितका कार्यक्रममा समेत सिंगो गाउँमा वितरण गर्ने, समुह बनाएर सीप हस्तान्तरण सहितका रचनात्मक कार्यबाट खानीगाउँमा बाख्रापालन, तरकारी खेती तथा मौरीपालन समेत गरिएको छ ।

विगतमा सामान्य खर्चको जोहो गर्न स्थानीय जातका बाख्रा पालेकाले अहिले उन्नतजातका बाख्रापालनमा जुटेका बाख्रापालक कृषकको दैनिकी दिउँसो जंगलमा बाख्रा चराउने, ल्याउने, खोरमा राख्ने गरेरै बित्छ ‘मैले सुरू गरेको ब्यवसायीक बाख्रापालनमा समुदायको साथ छ, हामीले मिलेर बाख्रापालन गरेका छौ’ अगुवा बाख्रापालक कृषक यामबहादुरले भने ।

विदेशबाट फर्किएपछि करिब ६ लाखको लगानीमा बुढाथोकी कृषि तथा पशुपन्छी फार्म सुरू गरेपछि स्थानीयलाई समेत सक्रिय बनाएको बताए ।बाख्रापालन गरेको पहिलो बर्ष बिषालु घाँस खाएर खोर रित्तिएपनि बाख्रापालनलाई निरन्तरता दिएपछि समुदायले समेत विश्वास गरेको उनले बताए । उनीसँग अहिले ३ वटा हाइटेक प्रविधिको टनेल, बोयर सहित ७० वटा उन्नतजातका बोकाबाखा्रा र ३ सय सुन्तलाको बोट छ ।

बाख्रापालन र तरकारी खेतीबाट बार्षिक १० लाख आम्दानी गर्ने गरेका छन् । ‘विदेशका धेरै बर्ष विताए, त्यहाँको सिप र जागँरलाई घरमै प्रयोग गरेको छु,‘केहीबर्षमै गाउँमा परिवर्तन आएको छ’ बुढाथोकीले भने । सिकेको सीप समुदायमा हस्तान्तरण गर्दा गाउँमा छिटो परिवर्तन आउने अनुभव आफुँले पाएको बताए । खोरमा दाना खुवाउन, पाठापाठी, बोका राख्न र सुत्केरी माउ राख्न छुट्टाछुट्टै ठाउँ बनाइएकाले समेत सहज भएको उनले बताए । ‘बाख्रापालनमा खानीगाउँलाई नमुना गाउँ बनाउने योजना छ,’ उनले भने, ‘अब हामीले बाख्रा अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने तयारी भइरहेको छ’ बुढाथोकीले भने ।

बाख्रापालन, कृषिका साथै सुन्तलाखेतीको समेत उच्च सम्भावना रहेकाले अबको पाँचबर्षभित्र गाउँमा बाख्रापालन, तरकारी र फलफुल खेतीबाट लाखौं भित्रिने बुढाथोकीको भनाई छ ।

खानीगाउँका कृषकले खेर गएको जमिनमा सुन्तलाखेती सहित कृषि खेती नहुने जमिनमा डालेघाँस, बकाइनो, पाखुरी, निवारो, राईखनियो, नेपिएर, किम्बुलगायतका विभिन्न घाँस लगाएका छन् । खानी गाउँ सहित आसपासका क्षेत्रमा बाख्रापालनबाट स्थानीयले रहरलाग्दो आम्दानी गर्न थालेपछि थप प्रोत्साहनका लागि मंगला गाउँपालिकाले बाख्रा पकेट कार्यक्रममार्फत अनुदान सहयोग गरेपछि थप सहज भएको छ ।

गुप्तेश्वर कृषक समुह गठन गरी ३४ जना कृषक आवद्ध रहेको समुहमा १७ जनाले ब्यवसायीक बाख्रापालन गरेका छन् । विनोद राम्जाली, रुपेश पाईजा,कृष्ण पौडेल, मोहन कार्कीथरबहादुर केसी, रनबहादुर खत्री, कुलबहादुर खत्री सहित समुहका कृषकहरूसँग ६ सय भन्दा बढी बोका, बाख्रा, पाठापाठी छन् भने समुहको बोयर बोका समेत छ । बाख्रा पकेट कार्यक्रम अन्तरगत गाउँपालिकाले २२ लाख अनुदान समेत दिएको गाउँपालिकाका प्रबक्ता एवम् कुहुँका वडा अध्यक्ष एकजित रोकाले बताए ।

पुरानै तरिकाले बाख्रा पाल्दै आएका धेरै कृषकले सुधारिएको खोर निर्माण सहितका कार्यमा बुढाथोकी र बहराइनबाट फर्किएका रनबहादुर खत्रीले सहयोग गरेपछि व्यावसायिक रुपमा बाख्रा पाल्न थालेको उनले बताए । ‘कृषि र पशुपालनमा नमुना गाउँ बनाउने उद्देश्यल ेस्मार्ट कृषिलाई प्रोत्साहन गरेका छौ,‘बाख्रापालनलाई प्रोत्साहन गर्दै उत्पादन वृद्धि गर्न सबै बस्तीलाई प्राथमिकता दिएका छौ’ वडा अध्यक्ष रोकाले भने ।

विदेशबाट फर्किएकाहरूको सीप र सक्रियतालाई प्रयोग गदैंउत्पादन वृद्धि गर्नुका साथै कृषकको जीवनस्तर उकास्ने र संस्थागत विकास हुने भएकाले माटो सुहाउँदो कृषि र सानो लगानीमा धेरै आम्दानी हुने क्षेत्रमा गाउँपालिकाले अनुदान तथा साझेदारी कार्यक्रमलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए । ‘नमुना कृषकको अनुभवले पनि धेरै सिक्न सकिन्छ, समुदायमै आम्दानी गर्न सक्ने क्षेत्रमा बजेटको अभाव हुन दिन्नौ’ गाउँपालिका अध्यक्ष रोकाले भने । पशुपालन, फलफुल र तरकारी खेतीमा मंगला गाउँपालिकामा जिल्लाभित्रकै नमुना कृषकहरू छन् ।

Leave a Reply