दोहा, कतार : कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले सञ्चालन गरेको चिठ्ठा कार्यक्रमबाट भएको बचत रकम हस्तान्तरण गरिएको छ । संघले म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा स्थापना गरेको मोना कतार बहुउद्देश्यीय अक्षय कोषको कोष वृद्घिका लागि सञ्चालन गरेको चिठ्ठाबाट बचेको २ लाख रुपैयाँ एक कार्यक्रमका बीच कोषका अध्यक्ष विक्रम कार्कीलाई हस्तान्तरण गरेको हो ।

१० रियाल दरका १५ सय चिठ्ठा छपाई गरिएकोमध्ये १३ सय ३८ वटा चिठ्ठा बिक्री भएको चिठ्ठा संयोजक बाबुराम भण्डारीले बताए । उनले चिठ्ठाको पुरस्कारसहित तीन हजार रियाल (करिब एक लाख रुपैयाँ) खर्च गर्दै १० हजार ३ सय ८० रियाल (करिब साढे तीन लाख रुपैयाँ) बचत भएको र त्यसमध्येबाट दुई लाख नेपाली रुपैयाँ कोषका लागि हस्तान्तरण गरिएको बताए ।

संघ कतारका अध्यक्ष राजु पौडेलको सभापतित्व तथा बहुउद्देश्यीय कोषका अध्यक्ष विक्रम कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममार्फत आफ्नो जनमदिनमा फजुल खर्च नगरी तीन जनाले कोषको आजीवन सदस्यता लिएका छन् । सदस्यता लिनेहरूमा म्याग्दी जिल्ला मालिका गॉउपालिका वडा नं ५ का वीरबहादुर सुनार, रघुगंगा गाउँपालिका वडा नं ३ का कमल परियार र बेनी नगरपालिका वडा नं ९ का कमल खत्री रहेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले कोषले कतार तथा जिल्लामा चन्दा अभियान सदाका लागि बन्द गर्ने विश्वास व्यक्त गर्दै कार्यसमितिले निरन्तर गरेको मिहेनतको प्रशंसा गरे । उनले छिट्टै कोषको अधिवेशन गरिने जानकारी दिए ।कार्यवाहक महासचिव कृष्ण शर्माले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति पौडेलले जिल्लाको दीर्घकालीन विकास र अभावमा परेकाहरूको सहयोगार्थ मोना कतार सदैव साथमा रहने प्रतिबद्धता व्यक्त गरे । उनले संघले सञ्चालन गरेका हरेक अभियानहरू सफल बनाउन सहयोग गर्ने सहयोगीका कारण मोना कतारले सदैव इतिहास रच्ने गरेकोमा खुसी व्यक्त गर्दै सबैप्रति आभार व्यक्त गरे ।

Leave a Reply