पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोटको चिउरीबोटस्थित छिपछिप गाउँमा नवनिर्मित झोलुङ्गे पुल निर्माण भएको छ । मालिका गाउँपालिका, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप)को आर्थिक सहयोगमा छिपछिप खोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिद्वारा निर्मित उक्त पुलको अस्ति बुधवार उद्घाटन गरिएको हो । ![](https://myagdikali.com/wp-content/uploads/2023/07/IMG_3640.jpg)
![](https://myagdikali.com/wp-content/uploads/2023/07/IMG_3640.jpg)
झोलुङ्गे पुल निर्माण गर्नको लागि प्रादेशिक प्राविधिक सहयोगी निकाय (पिटिएपि) पोखरा, झोलुङ्गे पुल सहयोग इकाई (टिबिएसयु) पोखरा र मिलन म्याग्दीले प्राविधिक तथा सामाजिक सहयोग उपलब्ध गराएका थिए । नवनिर्मित झोलुङ्गे पुलको उद्घाटनसँगै सार्वजनिक लेखापरीक्षण समेत गरिएको छ । पुल निर्माणका लागि गाउँपालिका र उपभोक्ता समितिको बीचमा २०७९ साल वैशाख १५ गते निर्माण सम्झौता भएको थियो । ![](https://myagdikali.com/wp-content/uploads/2023/07/IMG_3618.jpg)
![](https://myagdikali.com/wp-content/uploads/2023/07/IMG_3618.jpg)
पुल निर्माणको लागि कुल ३३ लाख ५९ हजार ८९ रुपैयाँ लागत अनुमान गरिएकोमा गाउँपालिकाले पुलको आवश्यक सामग्री (स्टिल पाट्र्स) कम लागतमा खरिद गरेको हुँदा पुल निर्माणमा यथार्थ खर्च भने ३२ लाख ५५ हजार चारसय ५९ रुपैयाँ भएको उपभोक्ता समितिले जनाएको छ ।![](https://myagdikali.com/wp-content/uploads/2023/07/IMG_3637.jpg)
![](https://myagdikali.com/wp-content/uploads/2023/07/IMG_3637.jpg)
छिपछिप गाउँको छिपछिप खोलामाथि निर्माण भएको झोलुङ्गे पुलबाट १ सय ७५ घरधुरीका ८ सय ७८ जनसंख्या लाभान्वित भएका छन् । पुल निर्माण अवधिमा कुल ३५ सय २६ दिन रोजगारी सिर्जना भएकोमा पुरुष १७ सय ८४ र महिला ३ सय ७३ जनाले रोजगारी पाएका थिए ।
पुल निर्माण गर्न कुल लागतको केन्द्रीय अनुदान झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट २६ लाख ६३ हजार चारसय ८३ रुपैयाँ, मालिका गाउँपालिकाको चारलाख ३६ हजार छ सय ८१, लठ्ठासहित बुल्डग ग्रिप्स सहयोग एकलाख ९१ हजार सातसय ४२ र समुदायबाट सहयोग ६७ हजार एकसय ८१ रुपैयाँ लगानी भएको छ ।![](https://myagdikali.com/wp-content/uploads/2023/07/IMG_3604.jpg)
![](https://myagdikali.com/wp-content/uploads/2023/07/IMG_3604.jpg)
५८ मिटर लामो झोलुङ्गे पुलको हिँड्ने बाटो (चौडाई) १ मिटर ६ सेन्टिमिटर, खोलादेखि पुलसम्म फ्रिबोट (पुलको उचाई) ९ मिटर ३० सेमी, पुलको जाली १ मिटर १० सेमी रहेको छ भने एकपटकमा पुलको २५ सय टन भारवहन क्षमता रहेको छ ।
नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले दुर्गम गाउँवस्तीमा पालिकामार्फत पुल निर्माणमा जोड दिइएको बताउनुभयो । उहाँले नयाँ झोलुङ्गे पुल निर्माणले दुई गाउँवस्तीलाई आवतजावत गर्न सहयोग पुगेको भन्दै वर्षात्को समयमा पर्ने विपद्जन्य घटनाको समयमै वडामार्फत गाउँपालिकामा जानकारी गराउन स्थानीलाई सुझाव दिनुभयो । गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले निर्माणसम्पन्न पुलको रेखदेख गर्ने जिम्मेवारी स्थानीयको भएकाले योजनाहरु समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । ![](https://myagdikali.com/wp-content/uploads/2023/07/IMG_3610.jpg)
![](https://myagdikali.com/wp-content/uploads/2023/07/IMG_3610.jpg)
झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष बुद्धिसरा घर्तीमगरले झोलुङ्गे पुल निर्माणको आम्दानी खर्च प्रस्तुत गरेको कार्यक्रममा जग्गादाताद्वय नरविर गोतामे र तिर्खबहादुर गोताामेलाई सम्मान गरिएको थियो । पिटिएपि पोखराका प्राविधिक अधिकृत दयाराम साह र मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले मन्तव्य व्यक्त गरेको पुल उद्घाटन कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर घर्तीमगरको अध्यक्षता, सचिव हितमान घर्तीमगरको सञ्चालन र स्थानीय गोकुल घर्तीमगरको स्वागतमा सम्पन्न भएको थियो ।