अस्ट्रेलियामा हुने भलिबल प्रतियोगितामा आफ्नो फरक पहिचान बनाउन सफल भएको म्याग्दीकाली युनाइटेड क्लबले राजधानी क्यानेवरामा सम्पन्न ‘एकदिवसीय एनआरएनए भलिबल टुर्नामेन्ट’ को उपाधि हात पारेको छ । क्यानबेरा नेप्लिज भलिबल क्लबको आयोजनामा शनिबार क्यानवेराको ह्यारिसन स्कुलमा आयोजित प्रतियोगिताको फाइनलमा सिड्नीको ढोरपाटन क्लबलाई ३–१ को सेटमा पराजित गर्दै, युनाइटेडले उपाधि जितेको हो ।

गृह जिल्ला म्याग्दीमा समेत भलिबल खेलका उत्कृष्ट खेलाडीहरु समेत रहेको म्याग्दीकाली युनाइटेड क्लबले फाइनलको पहिलो सेट १४–२५ले गुमाएको युनाइटेडले खेलमा चमत्कारी परिवर्तन गदैं त्यसपछि तीनै सेटमा हाबी भएको थियो । दोस्रो सेटमा २५–१९ले जित्दै खेल १–१ सेटको बराबरीमा गरेको म्याग्दी काली यूनाइटेडले तेस्रो सेटमा रणनीति नै परिवर्तन गरी झनै फराकिलो अन्तरले ढोरपाटनलाई १७ अंक भन्दा माथिको अंक बटुल्नै दिएन् । चौथो सेट पनि २५–१८ सहज जितसँगै युनाइटेड पहिलो पटक च्याम्पियन बन्न सफल भएको हो ।

उपाधिसहित युनाइटेडले ट्रफी, मेडल र प्रमाणपत्रका साथमा २५ सय अस्ट्रेलियन डलर प्राप्त गरेका छन् भने उपविजेता ढोरपाटनले ट्रफी, मेडल र प्रमाणपत्रका साथमा १५ सय डलर पाएका छन् । युनाइटेडलाई च्याम्पियन बनाउन अलराउण्ड प्रर्दशन गरेका कप्तान समेत रहेका पारस भण्डारी उत्कृष्ट खेलाडी घोषित भए । पारस म्याग्दीमा समेत जिल्लास्तरीय खेलमा चम्किएका खेलाडी हुन् ।

उनले म्याग्दीमा हुने विभिन्न भलिबल खेलमा समेत आफ्नो उत्कृष्ट खेल प्रर्दशन गर्न सफल भएका थिए । बेनी नगरपालिका वडा नं ५ डडुवाका पारस सहितका खेलाडीहरु गाउँ, जिल्लास्तरीय खेलमा समेत सहभागी भएका खेलाडीलाई म्याग्दी यूनाइटेडले समेट्न सफल भएको छ । म्याग्दी यूनाइटेडका सुमन बानियाँले भलिबल खेलमा क्लवको पहिचान बनेको र यसलाई कायम नै राख्ने बताए । प्रतियोगितामा क्यानवेरा र सिड्नीका विभिन्न ८ क्लबले सहभागिता जनाएका थिए ।

Leave a Reply