म्याग्दी, २५ असार । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङको वडा कार्यालय भवन निर्माण भएको छ ।

लमसुङमा एक तले पाँच कोठे अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी भवन निर्माण भएको हो । भवन निर्माणका लागि विसं २०७७ मा थापा निर्माण सेवासँग ठेक्का सम्झौता भएको थियो । रु ५६ लाखमा ठेक्का सम्झौता भएको भवन निर्माणको काम १८ महिनामा सम्पन गर्ने लक्ष्य थियो । भवनको शनिबार गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले उद्घाटन गरेका थिए। भवनमा वडाध्यक्ष, सचिव, भण्डारणको कार्यकक्ष रहेका छन् ।

कोरोना महामारी, बाढी, पहिरोको प्राकृतिक विपत्तिका कारण भवन निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधि रेशमबहादुर भण्डारीले बताए । “एक वर्षअघिनै भवन निर्माण सकिएको थियो”, उनले भने“प्राविधिक कारणले हालै मात्र भवन हस्तान्तरण भएको छ ।”

यसअघि स्वास्थ्यचौकीको पुरानो भवनबाट सेवा सञ्चालन हुदै आएको थियो । यसै हप्तादेखि नयाँ भवनबाट सेवा सञ्चालन गरिएको वडाध्यक्ष अकप्रसाद विले बताए । आफ्नै भवनमा कार्यालय सञ्चालन हुँदा सेवा प्रवाह सहज हुने उनले बताए।

वडा कार्यालयमा फर्निचर, कम्प्युटर, प्रिन्टरलगायत सामग्रीको अभाव भएको वडासचिव गिरिराज शर्माले बताए । गाउँपालिकाका अध्यक्ष पुनले वडा कार्यालयमा आवश्यक सामग्रीको तत्कालै व्यवस्थापन गरिने बताए ।

धैलागिरि गाउँपालिकाको वडा नम्बर ७ को पनि कार्यालय भवन निर्माण भएको छ । विसं २०७७ मा ४ कोठे भवन निर्माणका लागि रु ४७ लाखमा डोल्पो कन्ट्रक्सनले ठेक्का पाएको थियो । रु ६६ लाख लागत अनुमान गरिएको वडा कार्यालय भवन विसं २०७८ वैशाखमा सम्पन्न गर्ने लक्ष्य थियो ।

नयाँ भवनबाट सेवा प्रवाह सुरु गर्ने तयारी गरेको वडाध्यक्ष अशोक खत्रीले बताए । वडा कार्यालय भवन निर्माणका लागि जिल्ला समनवय समितिले रु ३० लाख विनियोजन गरेको थियो । भवन निर्माणका लागि टेकबहादुर केसी, खिमबहादुर खत्री र कृष्ण भण्डारीले जग्गा दान गरेका थिए ।

Leave a Reply