हिन्दु तथा बौद्ध धर्मावलम्बी पवित्र धार्मिकस्थल कैलाश मानसरोवरको यात्रालाई स्वर्गसँग जोडेर हेर्छन्। हिन्दु धर्मावलम्बीहरुमा कैलाशको दर्शन गरेपछि स्वर्ग गइन्छ भन्ने जनविश्वास छ। हिन्दु र बौद्धसहित जैन र बोन धर्मका अनुयायी पनि कैलाश पर्वतको यात्रा तथा दर्शनका लागि पुग्छन्। हिन्दुहरुको पवित्र ग्रन्थ रामायणमा गरिएको बयानअनुसार मानसरोवरमा स्नान गर्ने र कैलाशको परिक्रमा गर्ने व्यक्ति सिधै ब्रह्मलोकमा पुग्न सक्छ भन्ने आमविश्वास छ।

मानसरोवरको पानीलाई स्पर्श मात्रै गर्न सके मोक्ष प्राप्ति हुन्छ भन्ने मान्यता पनि छ। यही मान्यताका कारण जिन्दगीमा एक पटक कैलाश–मानसरोवरको दर्शन गर्नु आवश्यक छ भन्ने हिन्दु मान्यता रहेको छ। कैलाश पर्वतको यात्रामा जाने सबैले पूरै पर्वत परिक्रमा (स्थानीय तिब्बती भाषामा कोरा) गर्न सक्दैनन्। समुद्री सतहदेखि ५ हजार मिटर माथिको उचाइमा यात्रा गर्नु आफैंमा सकसपूर्ण हुन्छ। त्यसमाथि ३ दिनभन्दा बढी समय लाग्ने पर्वत परिक्रमा गर्न जो–सुकैले आँट देखाउन सक्दैनन्।

म्याग्दीका ६० वर्षीय यम बहादुर केसीले भने ३ दिनमा कैलाश पर्वतको परिक्रमा पुरा गर्नुभएको छ। उहाँले खाली खुट्टा नै पर्वतको परिक्रमा (कोरा) गर्नुभएको हो। पथप्रदर्शक टीएन भट्टका अनुसार पछिल्लो समय यसरी कसैले पनि कोरा गरेका छैनन्। ‘उहाँ (केसी)ले ३ दिन लगाएर खाली खुट्टा पूरै पर्वत परिक्रमा गर्नुभयो। उहाँले गरे जसरी विगत पछिल्ला वर्षमा कसैले पनि कोरा पुरा नगरेको रहेछ। केसीले कोरा पूरा गरेकामा यहाँका व्यवसायी र स्थानीयले उत्साह व्यक्त गर्नुभएको छ,’ भट्टले भन्नुभयो।

भट्टका अनुसार केसीले गरेको कोरालाई असम्भव नै मानिन्छ। ‘उहाँले धेरै असहज मानिने ठाउँबाट पुरै पर्वतको परिक्रमा गर्नुभएको छ। जसका लागि सबैले हिम्मत जुटाउँदैनन् भनेर यहाँका स्थानीय पर्यटन व्यवसायीले पनि भनेका छन्। उहाँको यात्रालाई अभूतपूर्व भनेर प्रशंसा भइरहेको छ।’

भट्टका अनुसार कैलाश कोरा गर्न सामान्यतया ३ दिन लाग्छ। यस अवधिमा यात्रुले ५२ किलोमिटरको यात्रा गर्छन्। भट्टका अनुसार कैलाश पर्वतको परिक्रमा गर्न भनेर केही ठाउँमा गाडी तथा घोडा चढेर पनि यात्रा गर्छन्। तर कैलाश पर्वतको मूख्य बाहिरी कोरा भने ५ हजार मिटरको उचाइ पार गरेपछि मात्रै सुरु हुन्छ। केसीले ५ हजार मिटर माथिको उचाइमा पर्वत परिक्रमा गर्नुभएको हो । केसीले कोरा गरेको विषय चिनियाँ पर्यटकमाझ पनि चर्चित बनेको छ। त्यहाँ टिकटक लगायतका सञ्जालहरुमा केसीले कोरा गरेका भिडियोहरु भाइरल भइरहेका छन्। Source : nepallive.com 

Leave a Reply