गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले समय तालिका बनाएर आयोजना कार्यन्वयन गरिने बताउनुभएको छ ।

बेनीमा सोमबार कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा मन्त्री जुग्जालीले ढिलासुस्ति विकास आयोजनाको प्रमुख चुनौति भएको बताउनुभयो । उहाँले लिफ्ट सिचाई र खानेपानी आयोजनाको विद्युत महशुल छुट दिने कार्यक्रम प्रदेश सरकारले ल्याएको बताउनुभयो ।

“आगामी वर्षको लागि प्रदेश सरकारले भौतिक मन्त्रालयलाई रु. १२ अर्ब ५० करोड बिनियोजन गरेको छ,” उहाँले भन्नुभयो “टुक्रे योजना कटौति गरिएको छ । रु. तीस लाख माथिका योजना छन् । सबै पूर्वाधार कार्यालयहरुलाई समय तालिका बनाएर भदौ, असोज महिनादेखिनै योजना कार्यान्वयनमा लैजान्छौ ।”

पहिलो चौमासिकमा सर्वेक्षण, लागत अनुमान तयार र ठेक्का प्रक्रीयाको काम सकेर दोस्रो चौमासिकदेखि योजना कार्यान्वयनले तिब्रता पाउने गरि समय तालिका बनाउन लागिएको मन्त्री जुग्जालीले बताउनुभयो । कृषि उपजको सहज ढुवानी, निकासी र बजारीकरणका लागि पनि ग्रामिण सडक स्तरोन्नतिलाई प्राथमिकता दिएको बताउनुभयो ।

मन्त्री जुग्जालीले यसअघिका वर्षको तुलनामा यसपाली म्याग्दीमा प्रदेश सरकारबाट बिनियोजन हुने बजेट बढेको बताउदै त्यसको प्रभावकारी कार्यान्वयनमा जुट्न सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । “बजेटको जस लिने होडबाजी होइन् त्यसलाई कसरी प्रभावकारी कार्यान्वयन गर्ने भन्ने अहिलेको मुद्दा हो,” उहाँले भन्नुभयो “म्याग्दीको विकासका विषयमा सरोकारवालाको साझा धारणा र प्रतिवद्धता आवश्यक छ ।”

गुर्जालाई सडक सञ्जालले जोड्ने, बेनी–पाखापानी सडक कालोपत्र गर्ने, यसअघि शुरु भएका सडक र सडक पुल निर्माणलाई पूर्णता दिन प्राथमिकता दिएको बताउनुभयो । सम्बृद्धि र विकासको पहिलो आधार शुसासन कायम गर्दै विकासलाई दिगो र गुणस्तरीय बनाउन समन्वय र सहजिकरण तथा निगरानीमा जोड दिनुभयो ।

म्याग्दीमा यसपटक बजेट भित्रिएपनि कार्यान्वयन नहुने विषयमा भएको चासो र चिन्ताप्रति ध्यानाकर्षण भएको बताउदै मन्त्री जुग्जालीले छिट्टैनै म्याग्दीका सरोकारवालाहरुबीच छलफल गरेर साझा धारणा बनाइने बताउनुभयो । स्थानीय तह, पुर्व जनप्रतिनिधि र वाहालवाला जनप्रतिनिधिहरुले अपनत्व लिने गरेर योजनाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने मन्त्री जुग्जालीको भनाई थियो ।

उहाँले बर्खामा नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउन सडक मर्मतका लागि पनि प्राथमिकताका साथ बजेट बिनियोजन भएको बताउनुभयो ।

मन्त्री जुग्जालीले सोमबारनै पूर्वाधार विकास कार्यालयका कर्मचारीहरुसँग चालु आर्थिक वर्षको प्रगति र आगामी आर्थिक वर्षको योजना कार्यान्वयनको तयारीका विषयमा छलफल गर्नुभएको थियो । पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले चालु आर्थिक वर्षको प्रगति र आगामी वर्षको योजना कार्यान्वयनको तयारीका विषयमा जानकारी गराउनुभएको थियो ।

Leave a Reply