विनय श्रेष्ठ, बेनी (म्याग्दी)
भनिन्छ –मेहनतको फल मिठो हुन्छ । यस्तै मेहनतको फल प्राप्त गरेका छन् म्याग्दीका समीर सुवेदीले । म्याग्दी जस्तो दुर्गम हिमाली जिल्लाबाट राष्ट्रिय परीक्षा बोर्डले २०७९ मा सञ्चालन गरेको एसईई परिक्षामा प्रकाश माध्यमिक विद्यालयबाट सहभागी भै ४ जिपिए प्राप्त गरेपछि समीरको थप चर्चा चुलिएको हो ।

पढाइमा अब्बल समीरको यो पहिलो सफलता भने पक्कै होईन । विलक्षण प्रतिभाको धनी समीर अतिरिक्त क्रियाकलापमा समेत आफुलाई अब्बल प्रमाणित गरिसकेका थिए । वक्तृत्वकला, हाजिर जवाफ लगायतका प्रतियोगितामा जहाँ भाग लिए त्यहाँ प्रथम भए ।

शिक्षा तथा समन्वय ईकाइ म्याग्दीले आयोजना गरेको जिल्ला स्तरीय प्रतिमा प्रष्टफुनमा प्रथम भै गण्डकी प्रदेशमा समेत प्रथम भएका समीर शैक्षिकसत्र २०७९ मा मात्र नौ पटक प्रतियोगितामा भाग लिई स्थानीय तहमा दुई पटक, जिल्ला स्तरमा छ पटक र प्रदेश स्तरमा एकपटक प्रथम भै विद्यालयको नाम चम्काउन सफल भएका थिए ।
“चार जिपिए ल्याउने धोको थियोे ।

दुई वर्ष कोरोनाको कारण एसईई परिक्षा नहुनाले अपुरो रहन गयो । गत वर्ष भने ३.९ जिपिए सहित हाम्रो विद्यालयका प्रेम श्रेष्ठले सामुदायिक विद्यालय तर्फ साविक धवलागिरी टप गरेपछि हामी थप उत्साहित बन्यौं ।” खुशी हुँदै प्रधानाध्यापक लेख बहादुर हमाल थप्नु हुन्छ–“यस पटक भने समीरले चार जिपिए प्राप्त गरेपछि भने सपना साकार भयो । जिपए प्रणालीमा चार जिपिए नै सबैभन्दा बढी जिपिए भएकोले नेपाल टप गरेको हाम्रो दाबी छ ।

साथमा सम्मज पौडेलले ३.८ जिविए सहित सामुदायिक विद्यालयतर्फ द्धितीय भएको थप खुशी पनि थपिएको छ ।” यो रिजल्टले उत्साहीत हुदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविनकुमार श्रेष्ठले समीर र परिवार त बधाईका पात्र हुनुहुन्छ नै सिंगो विद्यालय प्रशासन, अहोरात्र मेहनत गर्नुहुने शिक्षकवर्ग, अभिभावक, शुभचिन्तक लगायत सम्पूर्ण बधाईका भागिदार भएको बताउनु भयो ।

“समीरको सानो र एकैपटकको मेहनतले यो सफलता हात लागेको भने पक्कै होईन ।” खुशीले गदगद हुदै बुबा सन्तोष र आमा बिरन्ति एकै स्वरमा थप्नुहुन्छ–“अक्षर आरम्भ गरिदिने पुलाचौर एकेडेमी, मलजल गरिदिने माउन्ट एभरेस्ट र उत्कृष्ट वातावरण दिई सफलता प्राप्त गराउने प्रकाश मावि प्रति कृतज्ञ छौं ।

यो खुशी सबैलाई बाड्दै आभार समेत व्यक्त गर्न चाहन्छौं ।” बुबा सन्तोष प्रकाश माविक पुर्व विद्यार्थी र पुर्व शिक्षक हुन भने दुवै दम्पती शिक्षण पेशामा आबद्ध हुनुहुन्छ ।समीरले प्राप्त गरेको नतिजा म्याग्दीको सामुदायिक विद्यालय तर्फको पहिलो रेकर्ड हो । यस अघि सामुदायिक विद्यालय तर्फ कसैको पनि चार जिपिए आएको थिएन ।

“सफलतासँगै चुनौति पनि थपिएको छ ।“ खुशि हुदै कार्यवाहक विव्यस अध्यक्ष हरिकृष्ण श्रेष्ठ थप्नु हुन्छ–“मेहनत गरे सफलता पाइन्छ भन्ने प्रमाणित भएको छ । समीरको यस सफलता अरुको लागि उदाहरण बनेको छ । आगामी वर्षका विद्यार्थीहरुलाई हौसला प्रदान गरि धेरैलाई उत्कृष्ट रिजल्ट ल्याउन प्रोत्साहित गर्नेछ ।”

शिक्षक अभिभावक संघका अध्यक्ष दिनेश शर्माले समीरको सफलताले खुशी थपिएको साथमा सफलता कायम राख्न थप मेहनत गर्नुपर्ने बताउनु भयो ।“चिकित्सक बन्ने सपना छ ।” भर्खर चैत्र १६ गते १६ वर्षमा पाइला टेकेका समीर प्रफुल्ल मुद्रामा थप्छन् –“दीनदुःखीको सेवा गर्नेछु ।” विद्यार्थीको मेहनत, शिक्षकको लगाव, विद्यालयको वातावरण र अभिभावकको चासोले नै यो सफलता हासिल भएको हो । प्रकाश माविको मात्र होइन घर परिवार सहित समग्र म्यादी जिल्ला कै नाम राख्न सफल समीरको यो सपना छिट्टै पूरा होस् । सफलताका पर्याय बनेका समीरलाई थप सफलताको शुभकामना !

Leave a Reply