कोरोना भाइरसका कारण दुई शैक्षिक सत्रमा पारेको असरले तल्लो कक्षामा सिक्नु पर्ने ज्ञान, सीप र अवधारणाहरू सिक्न नपाइकन उपल्लो कक्षामा पुगे जसले गर्दा कोभिड भन्दा अगाडिको तुलनामा कोभिड पश्चात नतिजा खस्किएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले बताएका छन् ।

एसइईको नतिजा प्रकाशनपछि जिल्लाको सम्रग नतिजाको विश्लेषण गरेका प्रमुख थापाले विद्यार्थीमा परीक्षामुखी पढाइ लेखाइ तथा गणित, अंग्रेजी र विज्ञान जस्ता विषयहरूमा पटक पटक विज्ञापन गर्दा पनि शिक्षक नपाइएकाले नतिजामा असर देखिएको बताए । इकाई प्रमुख थापासँग बेनी साप्ताहिकले गरेको कुराकानी

म्याग्दीमा यस बर्षको एसईई नतिजा कस्तो आयो ?
सर्वप्रथम माध्यमिक शिक्षा परीक्षा २०७९ को म्याग्दी जिल्लाको नतिजाको बारेमा जिज्ञासा राख्नु भएकोमा बेनी साप्ताहिकलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यस वर्षको म्याग्दी जिल्लाको नतिजा सन्तोषजनक नै मान्नु पर्दछ । सामुदायिक विद्यालयको तर्फबाट पहिलो पटक ४ जिपिए प्राप्त भएको छ । समग्रमा उच्च जिपिए प्राप्त गर्ने विद्यार्थीहरूको संख्यामा कमि आएता पनि सामुदायिक विद्यालयहरूबाट ३.६ देखि ४.० जिपिए प्राप्त गर्ने विद्यार्थीहरूको संख्या बढेको पाइएको छ ।

नतिजामा गतबर्षको तुलानामा सुधार भएको छ कि खस्कियो ?
गत वर्षको तुलनामा सहभागिताका हिसाबले विद्यार्थी संख्या घटेको पाइयो । त्यसै गरी जिल्लाको औसतमा पनि गत वर्षको भन्दा कम नै भएको अवस्था छ । नतिजाको विश्लेषण गर्दा उच्च जिपिएबाट न्यून जिपिए प्राप्त गर्ने विद्यार्थीहरूको संख्या क्रमश बढ्दो क्रममा देखिएको छ ।

कोरोनाको समयमाबाहेक अन्यतीनबर्षको नतिजामाउच्च स्तरीकृत अंक (जिपिए) प्राप्त गर्ने विद्यार्थीको अवस्था कस्तो छ ?

कोभिड १९ को कारणबाट सम्पूर्ण क्षेत्रहरूमा ज्यादै ठूलो असर पर्यो । उक्त असरबाट शिक्षा क्षेत्र पनि अछुतो रहन सकेन । एउटा प्रणालीबाट संचालन भएका हाम्रा शैक्षिक संस्थाहरू नयाँ प्रणालीमा शिक्षण सिकाइ गर्नु पर्ने चुनौति थपियो । प्रभावकारी रूपमा कक्षाहरू संचालन हुन सकेनन । जसले गर्दा तल्लो कक्षामा सिक्नु पर्ने ज्ञान, सीप र अवधारणाहरू सिक्न नपाइकन उपल्लो कक्षामा पुगे जसले गर्दा कोभिड भन्दा अगाडिको तुलनामा कोभिड पश्चात नतिजा खस्किएको पाइयो । शैक्षिक सत्र २०७४ मा कुल परीक्षामा सहभागी भएका विद्यार्थीहरू मध्ये २.१० प्रतिशत विद्यार्थीले ३.६ – ४.० जिपिए प्राप्त गरेकोमा शैक्षिक सत्र २०७९ मा १.११ प्रतिशत विद्यार्थीहरूले मात्रै उक्त जिपिए प्राप्त गरेको अवस्था छ ।

यो घट्नुको मुख्य कारण के होला?
कारणहरू विभिन्न हुन सक्छन । खास गरी कोभिड १९ को कारणबाट निकै ठूलो शैक्षिक क्षति भएको अवस्था छ । विद्यार्थीहरूले न्यूनतम शैक्षिक उपलब्धिसमेत हासिल नगरी कक्षोन्नति भएको अवस्था छ । पाठ्यक्रम परिवर्तन भएको छ । तापनि हामी पुरानै पद्धतिमा अभ्यस्त छौं । विद्यालय अनुगमन निरीक्षण र शिक्षक पेशागत सहयोगका कार्यक्रम प्रभावकारी ढंगबाट संचालन हुन सकिरहेको छैन ।

परीक्षामुखी पढाइ लेखाइ रहेको छ । गणित, अंग्रेजी र विज्ञान जस्ता विषयहरूमा पटक पटक विज्ञापन गर्दा पनि शिक्षक नपाइएको अवस्था छ । आज मात्रै एउटा विद्यालयले शिक्षकको पदपूर्ति हुन नसकेको कारण दशौं पटक विज्ञापन गरेको कुरा आएको छ । जिल्लाका शिक्षकहरू कमी छ । बाहिरबाट आएका शिक्षकहरू सरुवा मिलाइ जाने प्रवृत्ति बढि छ । राम्रो र दक्ष शिक्षकलाई विद्यालयमा अड्याउन सकिरहेका छैनौं । तसर्थ नतिजा प्रभावित हुनुका विविध कारणहरू रहेको पाइन्छ ।

अब कसरी नतिजा सुधार गर्ने त ?

कोभिड १९ का कारणबाट ठूलो शैक्षिक क्षति भएको अवस्था छ । त्यसै कारणले गर्दा हाम्रो शिक्षण सिकाइ क्रियाकलापलाई Accelerate गर्नु पर्ने अवस्था छ । तल्ला कक्षाहरूमा सिक्नु पर्ने ज्ञान सीप र अवधारणा उपल्लो कक्षामा सिकाउनु पर्ने हुन सक्छ । परिवर्तित पाठ्यक्रमको मर्म अनुसारका शिक्षण सिकाइ क्रियाकलाप र मूल्याङ्कन पद्धति अपनाउनु पर्ने देखिन्छ। यसका लागि शिक्षकहरूलाई सोही अनुसारको तालिमको आवश्यकता रहेको छ । गणित, अंग्रेजी र विज्ञान जस्ता विषयमा शिक्षण सिकाइका लागि आवश्यक पर्ने स्थानीय जनशक्ति उत्पादनका लागि स्थानीय सरकार अग्रसर हुनु पर्ने देखिन्छ ।

उक्त विषय अध्ययन गर्नका लागि विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने नीति स्थानीय सरकारले लिनु पर्ने देखिन्छ । यसो नभएमा गणित, अंग्रेजी र विज्ञान जस्ता विषयमा शिक्षकको अभाव सधैभरी नै हुने देखिन्छ । त्यसै गरी शिक्षक सेवा आयोगबाट सिफारिस भइ आएका नयाँ शिक्षकहरूलाई विद्यालयमा टिकाउने वातावरण विद्यालय व्यवस्थापन समितिले निर्माण गरिनु पर्दछ ।विद्यालयको नियमित अनुगमन, सुपरिवेक्षण र शिक्षक पेशागत सहयोगको आवश्यकता रहेको छ ।

यसपटकको एसईई नतिजामा तपाईले देख्नुभएको सवल पक्ष के छ ?
सामुदायिक विद्यालयबाट उत्कृष्ट जिपिए प्राप्त हुनु, उच्च जिपिए प्राप्त गर्ने सामुदायिक विद्यालयका विद्यार्थीहरूको संख्या क्रमश वृद्धि हुनु, न्यून स्रोत साधन र दरबन्दी भएका केहि विद्यालयहरूको नतिजा तुलनात्मक रूपमा राम्रो हुनु यस पटकको माध्यमिक शिक्षा परीक्षाको नतिजामा देखिएका सबल पक्षहरू हुन ।

Leave a Reply