म्याग्दीमा चालु आवमा विभिन्न बस्ती जोड्ने ९ वटा झोलुङ्गे पुल निर्माण भएको छ । झोलुङ्गे पुल निर्माण गर्नको लागि प्रादेशिक प्राविधिक सहयोगी निकाय (पिटिएपि) पोखरा, झोलुङ्गे पुल सहयोग इकाई (टिबिएसयु) पोखरा र मिलन म्याग्दीले प्राविधिक तथा सामाजिक सहयोगमा बेनी नगरपालिका, रघुगंगा र मालिका गाउँपालिकामा ९ वटा झोलुङ्गे पुल निर्माण गरी प्रयोगमा आएको छ । जिल्लाभर १८ वटा झोलुङ्गे पुलमध्ये बेनी नगरपालिकामा २ र रघुगंगामा २ र मालिका गाउँपालिकामा ५ वटा पुल निर्माण गरिएको मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले बताईन् ।

‘झोलुङ्गे पुलले स्थानीयलाई आवतजावतमा निकै सहज भएको छ, निर्माणधिन अवस्थामा रहेका बाँकी अर्को आवको केही महिनामै सकिन्छ’ बिटालुले भनिन् । भौगोलिक रुपमा विकट, सडक सञ्जालको पहुँच कम तथा धेरै आवतजावत हुने स्थानहरुमा झोलुङ्गे पुल निर्माण गरिएको कार्यकारी निर्देशक बिटालुले बताईन् । निर्माण सम्पन्न भएका झोलुङ्गे पुलको कुल लागत ३ करोड ३५ लाख ३ हजार ६६० रहेको छ । नवनिर्मित झोलुङ्गे पुलको उद्घाटनसँगै सार्वजनिक लेखापरीक्षण समेत गरिएको छ ।

जिल्लाभर सम्पन्न भएको झोलुङ्गे पुलबाट कुल ३२ सय ८६ घरधुरीका ५ हजार ८ सय ६३ जनसंख्या लाभान्वित भएका छन्। पुल निर्माण अवधिमा कुल १९ हजार ८०८ दिन रोजगारी सिर्जना भएकोमा अधिकांस स्थानीयले रोजगारी पाएको मिलन म्याग्दीले जनाएको छ। पुल निर्माण गर्न कुल लागतको केन्द्रीय अनुदान झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम बाहेक स्थानीय गाउँपालिकाकाले समेत आर्थिक सहयोग गर्ने गरेको छ । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले दुर्गम गाउँवस्तीमा पालिकामार्फत पुल निर्माणमा जोड दिइएको बताए ।

उनले नयाँ झोलुङ्गे पुल निर्माणले दुई गाउँवस्तीलाई आवतजावत गर्न सहयोग पुगेको बताए । झोलुङ्गे पुल निर्माणको क्रममा स्थानीयबासीले निशुल्क समेत जग्गा दिने गरेका छन् । पैदल र सवारीसाधनमा घुमाउरो सडकबाट आवतजावत गर्नुपर्ने स्थानीय, विद्यालयका विद्यार्थीलाई समेत पुल बनेपछि समय बचत भएको छ भने यात्राको अवधि समेत छोटिएको मालिका गाउँपालिका–४, ओखरबोटकोचिउरीबोटस्थित छिपछिप गाउँमा बनेको पुलका उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर घर्तीमगरले बताए ।

Leave a Reply