म्याग्दी, २६ असार । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा कटान र पहिरो नियन्त्रण गर्न तटबन्ध र पक्की पर्खाल निर्माण गरिएको छ । सरस्वती मावि रहेको फापरखेत, मसार र उपल्लो तातोपानी बजारमा म्याग्दी नदीको कटान र पहिरो रोकथामका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको नयाँ प्रविधिमा आधारित नदी नियन्त्रण र बृहत् जलाधार आयोजनाको सहयोगमा संरचना निर्माण भएको हो ।

उपभोक्ता समितिका अध्यक्ष कुमार केसीले सरस्वती मावि पछाडिको पहिरो र कटान रोकथामका लागि तीन तहको पक्की पर्खालका साथै तातोपानी बजार र प्राकृतिक तातोपानी कुण्ड संरक्षण गर्न ग्यावियन पर्खाल निर्माण भएको जानकारी दिए।

“तातोपानी बजारमा नदी र पहिरो नियन्त्रण गर्न यस वर्ष ९५ लाख बराबरको काम भएको छ”, उनले भने, “पहिलो चरणमा प्राप्त रु ५० लाख अनुदानबाट सरस्वती मावि पछाडि म्याग्दी नदी किनारमा ५०–५० मिटर लामो र चार मिटर अग्लो रिटेनिङ पर्खाल लगाइएको थियो । असार महिनामा आएको ३५ लाख बजेटबाट यसअघि बनाइएको पर्खालमाथि पहिरो रोकथामका लागि थप ४९ मिटर लामो र चार मिटर अग्लो पर्खाल बनाउने काम सकिएको छ ।”

मसार क्षेत्रमा पर्खाल लगाउने तयारी गरिए पनि असार लागिसकेको र म्याग्दी नदीमा पानीको सतह बढेकाले त्यहाँ काम गर्न नसकिने भएपछि पहिरो रोकथाम गर्न थप पर्खाल बनाएको केसीले बताए । यसैगरी बृहत् जलाधार आयोजना कास्कीको १० लाख सहयोगमा तातोपानी बजार तथा कुण्ड संरक्षणका लागि म्याग्दी नदी किनारमा ६२ मिटर लामो ग्यावियन पर्खाल निर्माण गरिएको छ ।

विसं २०७८ मा म्याग्दी नदीमा आएको बाढीले फापरखेत र मसारमा कटान गरेको थियो । मसारमा दुईवटा घर भत्किएका थिए । फारखेतमा रहेको सरस्वती मावि, ज्वालामाई आमा समूहको भवन र मसारको १७ घर नदी कटानको जोखिममा छन् । एकासी घरधुरीको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि म्याग्दी नदीको कटानको जोखिममा छ ।

तातोपानी र मसारमा कटान नियन्त्रणका गण्डकी प्रदेश सरकारमार्फत आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३५ लाख विनियोजन भएको गण्डकी प्रदेश सभासदस्य हरिबहादुर भण्डारीले जानकारी दिए ।

Leave a Reply