विहीबार विहान आएको पहिराले ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको पावर हाउस (विद्युत गृह) बगाएको हो ।

पहिरोले विद्युत् गृहको भवन र उपकरणहरु पहिरोले बगाए पछि गाउँमा विद्युत् आपूर्ति बन्द भएको हो । मरेनीस्थित विद्युत् गृहभन्दा माथिको पाखोबाट बिहीबार बिहान करिब १० बजेको समयमा खसेको पहिरोले विद्युत् गृहको भवन र विद्युतका उपकरणहरु बगाएर दरखोलामा मिसाएको नगेन्द्र ठकुरीले जानकारी दिए ।

उनले भने, ‘विद्युत गृहको भवन र उपकरण सबै पहिरोले दरखोलामा मिसाएको छ । गाउँमा बिजुली आपूर्ति बन्द हुँदा जनजीवन प्रभावित भएको छ ।’

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनका अनुसार दुई वर्षअघि पनि परियोजनाको नहर, बाँध र विद्युत् गृह बाढीले बगाएको थियो । एक वर्षअघि मर्मत सम्भार गरेर गाउँमा बिजुली बालिएको थियो । अहिले फेरि पहिरोले विद्युत् गृह बगाएपछि गाउँमा बिजुली आपूर्ति बन्द भएको छ ।

उहाँका अनुसार पावर हाउस भएको ठाउँमा खोला बगेको छ । खबाङको दोभानमा रहेको बाँध, ७२५ मिटर लामो पाइपलाइन, मरेनीको फेदी र दरखोलाको किनारमा विद्युत गृहमा बाढीले क्षति गरेको छ ।

परियोजना बगाएपछि लुलाङ, खोरीया, मेरनी र लमसुङका तीनसय ६५ घरधुरीमा विद्युत आपुर्ति बन्द भएको छ । घरायसी काम, विद्यार्थीको पठनपाठन र विद्युतबाट चल्ने उपकरणमा आधारित साना उद्योग ठप्प भएका छन् ।

२०७६ साल कात्तिकमा एक करोड ७४ लाख रुपैयाँको लागतमा परियोजना निर्माण भएको थियो । यसअघि २०७२ साउनमा जुगेपानीमा आएको पहिरोले विद्युत गृह र नहर बगाएपछि मरेनीको फेदीमा परियोजना स्थानान्तरण गरिएको थियो ।

एक वर्ष अघि परियोजना मर्मतका लागि धवलागिरि गाउँपालिकाले रु १२ लाख र स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत रु १० लाख गरी रु २२ लाख खर्च भएको थियो ।

२०७६ मा वैकल्पिक उर्जा प्रवर्धन केन्द्र ८५ लाख ९७ हजार, जन श्रमदान ३३ लाख गाउँपालिकाको ५० लाख र स्थानीयवासीबाट चन्दा सहयोगबाट प्राप्त ५ लाख ३ हजार गरी एक करोड ७४ लाख रुपैयाँ लागतमा परियोजना निर्माण गरिएको थियो ।

Leave a Reply