बेनी, ३ साउन । म्याग्दी सदरमुकाम बेनी बजारस्थित कालीपुल बसपार्कमा निर्माण भएको टर्मिनल भवन सञ्चालनमा आएको छ । बसपार्क सञ्चालन भएको १६ वर्षपछि निर्माण भएको टर्मिनल भवन आज बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गरेका हुन् ।

बागलुङस्थित सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गरेको सो भवन नगरपालिकालाई हस्तान्तरण गरेपछि उद्घाटन गरिएको हो ।टर्मिनल भवन बनाउन विसं २०७८ पुसमा रु दुई करोड ८५ लाख ४५ हजारमा ठेक्का सम्झौता गरिएको थियो ।

नवनिर्मित भवनमा म्याग्दीबाट विभिन्न ठाउँमा छुट्ने यातायातका टिकट काउण्टर सञ्चालन गरिएको छ । विसं २०६४ मा पर्वत र म्याग्दी जोड्ने कालीगण्डकी नदीमाथि पक्की मोटरेबल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क सञ्चालन भएको थियो ।

बसपार्कमा निर्माण गरिएको एकतले भवनमा टिकट काउन्टर, शौचालय र यात्रु प्रतिक्षालय छन् । बसपार्कको भवन परिसरमा आरसिसी ढलान गरिएको छ । अपाङ्गतामैत्री भवनमा सुरक्षा निगरानीका लागि सिसि टिभी क्यामेरा जडान गरिएको छ । उद्घाटन समारोहमा प्रमुख केसीले एकैठाउँबाट यात्रुहरुले टिकट काट्न पाउँदा सुविधा हुने बताए ।

उनले कालीपुल बसपार्क क्षेत्र म्याग्दी र मुस्ताङको प्रवेशद्धार हुनाका साथै यो स्थल स्वच्छ र सफा भएकाले आउने पर्यटकलाई सकरात्मक सन्देश मिल्ने चर्चा गरे । नवनिर्मित भवनमा टिकट काउन्टरका लागि कोठा विभाजन र यात्रुलाई विश्राम गर्न फर्निचरको व्यवस्था गरिएको कालीपुल बसपार्क व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडानं–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले जानकारी दिए ।

उनका अनुसार बसपार्कलाई सफा र व्यवस्थित गराउन सात कर्मचारी नियुक्त गरिएको र व्यवसायीहरुबाट न्यूनतम सरसफलाई र पार्किङ शुल्क लिने गरिएको छ। बसपार्कबाट हुने आम्दानीलाई स्थानीय बाल मन्दिर माध्यमिक विद्यालय, नगरपालिका र बसपार्क व्यवस्थापनमा परिचालन खर्च गरिने जनाइएकोे छ ।

। विसं २०७४ मा नगरपालिकाले तयार पारेको बसपार्कको गुरुयोजनामा २१ करोड लागत अनुमान गरिएको थियो । गुरुयोजना अनुसार बसपार्कमा नगरपालिका, प्रदेश र सङ्घीय सरकारको सहकार्यमा बसपार्क ढलान गर्ने, नाली निर्माण गर्नेलगायतका पूर्वाधार निर्माण भइरहेको छ ।

Leave a Reply