उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाको घट्टेडाँडामाकी विष्णुकुमारी पूर्जा एका बिहानदेखि घरबाट निस्किएर साँझ अबेर मात्र घर फर्किन्छिन् । ६० बर्षिया विष्णुकुमारीले सञ्चालन गरेको पानी घट्टमा कुटानी पिसानीका लागि आउने स्थानीयसँगै अधिकांस समय बित्छ ।
आधुनिक विद्युतिय मिल तथा चक्कीको प्रयोग बढ्दै गएपछि परम्परागत पानीघट्टहरु लोप हुने अवस्थामा पुगेपनि बिष्णुकुमारीको गुजरा यसैबाट चल्ने गरेको छ । एकल महिला विष्णुकुमारीले विगत २० बर्षदेखि पानीघट्ट सञ्चालन गरेकी छन् । वितेका २० बर्षको अवधिमा विष्णुकुमारीले परिवारको आम्दानीको मुख्य साहारा श्रीमान र छोरा गुमाईन् ।
बिरामी भएर उपचारमै क्रममा परिवारमा एक पछि अर्को सदस्य गुमाएकी विष्णुकुमारीलाई जीविकोपार्जनको लागि परम्परागत पानीघट्ट आयस्रोतको माध्यम बनेको छ । वृद्धा अवस्थामा अन्य काम गर्न नसकेपनि पानीघट्टले घरखर्च चलाउने गरेको उनको भनाई छ । ‘घरखर्च चलाउन सजिलो भएको छ,‘बुढेशकालमा पनि पानीघट्टलाई छोड्न सकेको छैन,मेरो प्रमुख आयस्रोत पानी घट्टबाट हुने आम्दानी नै हो’बिष्णुकुमारीले भनिन् ।
उनले विगतमा जस्तो राम्रो कमाई नभएपनि पानी घट्टले आफ्नो परिचय बनाएको बताईन् । उनले बिहान र बेलुकी नियमित र माग अनुसार दिउँसोमा समेत सञ्चालन गर्ने गरेको बताईन् । सहयोगी मनकी धनी भएकाले स्थानीयवासीले गहुँ, कोदो, चामल, मकै लगायतका अन्न पिसानी गर्न उनलाई नै रोज्ने गरेका छन् ।
पानी घट्टबाट अन्न पिसानी गर्दा पिसानी गरेको बस्तुको केही भाग घट्ट धनीलाई दिने चलन रहेको र केहीले थप नगद समेत दिने गरेको बिष्णुकुमारीले बताईन् । उनले प्रतिपाथि पिसेको अन्नको ज्यालावापत एक माना अन्न दिने नियमले घरखर्च चलाउन सजिलो भएको बताईन् ।
स्थानीय ज्ञानप्रकाश माविको स्वामित्वमा रहेको घट्ट भाडामा लिएर सञ्चालन गरिरहेकी विष्णुकुमारीले आर्थिक अभावक कारण गाउँमा रहेका अन्य पानी घट्टलाई जस्तै आधुनिक उपकरण जडान गर्न नसकेको बताईन्।‘बर्खाको समयमा हुने क्षतीले मर्मतखर्च धान्न समेत मुस्किल पर्छ,‘परम्परागत पानी घट्टमा पिसानी गर्दा लामो समय कुर्नुपर्ने बाध्यता हुन्छ’ उनले भनिन्।
पिसेको पिठो स्वादिलो हुने भएकाले स्थानीयबासी विद्युतीय मिलमा भन्दा घट्टमै पिठो पिस्न ल्याउने गरेको उनले बताईन् । पानीघट्टले समय विताउन, स्थानीयसँग दुखसुखका कुरा गर्न समेत सजिलो बनाइदिएको बिष्णुकुमारीको भनाई छ।
घट्टेडाँडामा मात्रै लस्करै ८ वटा पानी घट्टको बीचमा रहेको विष्णुकुमारीको पूरानो घट्ट अवलोकनका लागि समेत आउने गरेका छन् । उनले पानी घट्टका बारेमा जिज्ञासा राख्नेहरुलाई खुलेर सुनाउने गरेकी छन् ।‘हिड्न सक्ने बेलासम्म यो घट्ट चलाउँछु,‘मेरो साहरा बनेकाले धेरै मायाँ लाग्छ’ उनले भनिन् ।
आधुनिक विद्युतिय मिलले पानी घट्ट विस्थापित हुन थालेकोमा विष्णुकुमारी चिन्तित छिन् । उनले परम्परागत पानी घट्ट जोगाउन स्थानीय जनप्रतिनिधिले सक्रियता देखाउनुपर्ने बताईन् । उनले परम्परागत रुपमा अन्न पिसानीका लागि घरमा प्रयोग हुने जाँतो, ओखल तथा ढिकीलाई घट्टले विस्थापित गरेको र घट्टलाई विद्युतीय मिलहरुले विस्थापित गरेको बताईन् ।
यता ज्ञानप्रकाश माविका प्रधानाध्यापक शान्तबहादुर नेपालीले विष्णकुमारी लगायतको सक्रियतामा दानामा अझै पानी घट्टले निरन्तरता पाएको बताए । ‘गाउँका महिला सक्रिय हुदाँ पानीघट्ट सञ्चालन भइरहेको छ,‘नयाँ पुस्तालाई यो सीप हस्तान्तरणको सम्भावना भने न्युन छ’ प्रअ नेपालीले भने । उनले नयाँ पुस्ताले तत्कालै नगदमा आम्दानी खोज्ने भएकाले यो पेशामा नयाँ पुस्ताले निरन्रतता दिने अवस्था नभएको बताए । उत्तरी म्याग्दीको अन्नपूर्ण–५ नारच्याङ, वडा नं २ भुरुङ तातोपानी र दानाको घट्टेडाँडामा मात्रै ८ वटा पानी घट्ट सञ्चालनमा भएपनि बिग्रिएपछि मर्मत नगर्दा धेरै समय बन्द हुने गरेको छ ।