ध्रुवसागर शर्मा\ शिरानमा घना जंगल । पूर्वतर्फ मोहोडा गरेको सुन्दर समथर फाँट । जताततै हरियाली नै हरियाली । गुजुप्प परेको वस्ती । वस्तीको माथिल्लो र जंगलको तल्लो पट्टी उत्तर–पश्चिम फैलिएर रहेको छ नेपालको नक्सा आकारको निस्कोट बराहा ताल ।

म्याग्दीको मालिका गाउँपालिका वडा नं १ मा पर्ने निस्कोट गाउँको शिरानमा रहेको बराह ताल अलि टाढाबाट हेदौ ठ्याक्कै नेपालको नक्सा जस्तै देखिन्छ । यो तालमा धौलागिरि हिमालको प्रतिविम्म स्पष्टसँग देखिने हुनाले यस ताललाई ‘हिमालको ऐना’ पनि भनेर चिनिन्छ ।निस्कोट सामुदायिक वनको पुछारमा रहेको यो ताल उत्तरपश्चिम भएर फैलिएको छ ।

क्षितिजमा धौलागिरि हिमाल देखिन्छ भने सोही हिमालको प्रतिविम्म तालमा देख्दा यहाँ पुग्ने आन्तरिक पर्यटकहरु छक्कै पर्ने मालिका गाउँपालिका वडा नं १ का वडाअध्यक्ष टंकप्रसाद पुनले बताउनुभयो । वडाअध्यक्ष पुनका अनुसार गाउँको शिरानमा र जंगलको पुछारमा रहेको यो ताल कहिल्यै पनि फोहोर हुँदैन । यहाँ जंगलका पात पतिङ्गर परिहाले भने पनि पंक्षी (चरा) हरुले चुच्चोले टिपेर वाहिर फ्याक्ने गर्दछन् ।

निस्कोट गाउँमा पुगेपछि घना वन जङ्गलको बीच भाग र केही मानव वस्ती रहेको ठाउँमा बराहतालको लोभलाग्दो दृश्य हेर्न पाइन्छ ।समुन्द्री सतहदेखि २ हजार ३ सय मिटरको उचाइमा अवस्थित बराहताल र तालको आसपासबाट मनोरम हिमश्रृङ्खलाहरु देखिन्छन् ।

बराहताल क्षेत्रबाट संसारको सातौं तथा नेपालको दोस्रो अग्लो चुचुरो धौलागिरि हिमालको साथै गूर्जा, निलगिरी, अन्नपूर्ण, माछापुच्छे«, मानापाथी लगायतका आधा दर्जनभन्दा बढी हिमाल र मनोरम दृष्यहरुको प्रत्यक्ष रुपमा अवलोकन गर्न सकिने वडाअध्यक्ष पुनले बताउनुभयो । बराहतालमा वन जङ्गल र हिमालहरु समेत आकर्षक रुपमा देखिने निस्कोटका स्थानीय रमेश पुनले बताउनुभयो ।

रोमाञ्चक भू–बनोट, हरियाली र विविधताले युक्त सुन्दर गाउँ, मनमोहक प्रकृति र यही प्रकृतिको नेरोफेरोमा रहेको चित्ताकर्षक बराहतालले अहिले पर्यटकहरुलाई पर्खिरहेको छ ।

पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको र मौसम खुलेको समयमा आँखै अगाडि सेताम्मे हिमालहरुको लर्कन देखिने निस्कोटको बराहतालमा थोरै पर्यटकहरु पुग्छन् । भौगोलिकरुपमा विकट र प्रचार प्रसारको अभावमा थोरै पर्यटकहरु पुगे पनि यहाँ पुग्ने पर्यटकहरु मज्जाले रमाउने गर्दछन् । झण्डै २ रोपनीको क्षेत्रफलमा फैलिएको बराहतालको आवश्यक संरक्षण, प्रचारप्रसार तथा प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको स्थानीयवासी बताउँछन् ।

हिमालको वरिपरी लुकामारी खेलिरहने बादलको घुम्टोले अझै सुन्दरता थपिदिन्छ । पहाड र आकाश जोडिएको क्षितिजमा पर्ने हिमाल अनि तालमा देखिने हिमालको दृष्यले त्यहाँ पुग्नेहरुलाई अचम्मित बनाउँछ ।

निस्कोट गाउँमा पुग्ने जो कोही पनि बराहतालको अवलोकन गर्न तथा ताललाई पृष्ठभूमीमा पारेर फोटो र सेल्फी खिच्न भनेर त्यहाँ जाने गरेका छन् । निस्कोट गाउँबाट आधा घण्टाको दुरीमा पर्ने बराहताल स्थानीयका अनुसार झण्डै २० फिट गहिरो रहेको अनुमान गरिएको छ ।

निस्कोट मालिका गाउँपालिकाको दक्षिण भागमा पर्दछ । कुल १७.३ वर्ग कि.मी मा फैलिएको निस्कोटमा जम्मा १ हजार ९ सय ९४ जनसंख्या रहेको छ । जसमध्य महिला १ हजार २६ र पुरुष ९ सय ६८ रहेका छन्।

यो वडा मंगला गाउँपालिका र बागलुङ्ग जिल्ला संग जोडिएको छ । निस्कोटमा मकै, कोदो, गउँ, जौँ, बालि हुन्छ । श्रावण महिनामा निस्कोटमा रहेको बराह तालको दृृष्य निकै नै रमणिय देखिने स्थनीय वुद्ध विकले बताउनुभयो ।

Leave a Reply