म्याग्दीको बगरफाँट, सिंगा, ताकम, रत्नेचौर र बाबियाचौरमा डेढ दशक अघिसम्म धान, गहुँ, मकै र समय अनुसारको अन्नवाली लहलह झुलेको हुन्थ्यो । अन्नवालीले यहाँका फाँटहरु निकै हरिया हुन्थे । यहाँको उत्पादनले स्थानीयलाई १२ महिना सम्म खान पुग्थ्यो । तर, जब सडक बनेर गाडीहरु कुद्न थाले यहाँको अवस्था फेरियो । अन्न फल्ने हरिया फाँटहरु अब कंक्रिणका घरले भरिन थालेका छन् ।
म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको उर्वर फाँटमा पक्की घर निर्माण गर्नेे क्रम बढेसँगै खेतीयोग्य जमिन नासिँदै गएको छ । बेनी नगरपालिका ४ सिंगा,बेनी नगरपालिका १ रत्नेचौर,मंगला गाउँपालिकाको बाबियाचौर लगाएतका सडकको पहुँच पुगेका ठाउँहरुको अवस्था पनि यस्तै छ ।
सदरमुकाम बेनी बजारसँगै जोडिएको र सबै किसिमका सुविधाको पहुँचमा रहेको गाउँ भएको हुनाले यहाँको उर्वर भूमिमा पछिल्लो समय पक्की घर निर्माण गर्ने क्रम बढ्दै जान थालेको हो ।
जिल्लाको अन्न भण्डार र प्राङ्गारिक खेतीको गाउँका रूपमा परिचित बगरफाँटमा पछिल्लो केही समययता पक्की घर निर्माण हुने क्रम बढेसँगै उर्वर फाँट कङ्क्रिटको शहरमा परिणत हुने जोखिम बढ्दै गएपछि यहाँका किसान चिन्तित बनेका छन् । सदरमुकाम बेनी बजारसँगै जोडिएको र सबै किसिमका सुविधाको पहुँचमा रहेको गाउँ भएको हुनाले यहाँको उर्वर भूमिमा पछिल्लो समय पक्की घर निर्माण गर्ने क्रम बढ्दै जान थालेको हो ।
धमाधम खेतियोग्य जमिनमा पक्की भवन निर्माण हुन थालेपछि उत्पादनमा ह्रास आएको छ । एक त खेतियोग्य जमिन नै छैन, अर्को भएको जमिनमा पनि जाँगर लगाएर खेतिपाती गरिदैँन। बेनी नगरपालिका २ बगरफाँटका बेदप्रसाद शर्माले भन्नुभयो “बाली झुल्नु पर्ने खेतका फाँटमा घर ठडिए पछि अन्नवालीको उत्पादनमा कमी आएको छ । आयतित खाद्यन्नमा निर्भर रहनुपरेको छ ।”
खेती गरेर उत्पादित कृषि जन्य वस्तुको भन्दा बढी पैसा जग्गा बेच्दा कमाउन थालेपछि किसानले धमाधम जग्गा बेच्न थालेका स्थानीयको भनाइरहेको छ । खेतियोग्य जमिन घडेरी बनाउँनको लागि बेच्न थाले, फलस्वरुप अहिले स्थानीय उत्पादनमा म्याग्दी अघि बढ्न सकेको छैन । कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार म्याग्दीको खेतीयोग्य जमिनको धेरै भागमा घर, उद्योग र कलकारखाना बनेका छन् । सडक पुगेपछि जिल्लाको विकासमा सहजतामा आएपनि कृषि योग्य जमिन मासिँदै जान थालेको छ ।
प्राङ्गारिक गाउँका रूपमा परिचित बगरफाँटमा अहिले आठ ओटा पक्की घर निर्माण भएका छन् । उपल्लो फाँट र तल्लोफाँट (पलाँसे क्षेत्र) गरी दुई भागमा बाँडिएको बगरफाँट जिल्लाकै अन्न भण्डारको रूपमा चिनिन्छ । जिल्लाका विभिन्न स्थानबाट बसाइँ सरेर बगरफाँटमा घडेरी किनी घर बनाएर बस्ने व्यक्तिका कारण उर्वर फाँट मासिँदै गएको स्थानीयवासीले बताएका छन् ।
सदरमुकाम बेनीबजारसँगै जोडिएको बगरफाँटमा बजारको तुलनामा घडेरी निकै सस्तोमा पाइने हुनाले पनि बेनी बजारमा भन्दा यहाँ घडेरी किनेर घर बनाउने आकर्षण बढेको हो । बजारमा प्रतिहात रु पाँच लाखको हाराहारीमा घडेरी बिक्री हुने गरेको भए पनि यहाँ प्रतिहात एकदेखि एक लाख ५० हजार मूल्यमा घडेरी पाइँदा घडेरीको खोजीमा मानिस बगरफाँटमा आउने गरेका हुन् ।
हाँडेभीर–बगरफाँट–सुर्केमेला–बरङ्जा सडक निर्माण भएपछि बगरफाँटमा बस्ती विस्तार र जग्गाको किनबेच हुने क्रम बढेको स्थानीयवासी भवेन्द्रविक्रम शाहले बताउनुभयो । यही क्रममा बस्ती विस्तार हुँदै जाने हो भने केही समयपछि बगरफाँटको उर्वर भूमि सखाप हुने उहाँको भनाइ छ ।
“जिल्लामा न त आधुनिक खेति प्रणालीको विकास हुन सकेको छ न त रैथाने परम्परागत कृषि पेशालाई राम्रोसंग अपनाउन सकिएको छ” स्थानीय किसान टेकबहादुर कार्कीले भन्नुभयो “किसानले खेतियोग्य जमिन बेच्नु बाहेकको विकल्प छैन ।”दैनिक दिन खेतियोग्य जमिनमा पक्की भवन ठडिँदा समेत कसैले खेतियोग्य जमिनको पक्षमा वकालत गरेका छैनन् ।
म्याग्दी जिल्लामा ८ प्रतिशत बेसी क्षेत्र, ५६ प्रतिशत उच्च पहाडी क्षेत्र र ३६प्रतिशत हिमाली क्षेत्रको भू–बनोट रहेको छ ।समुद्र सतहबाट ७९२ मीटर (बेनी नगरपालिका १ रत्नेचौर) देखि ८,१६७ मीटर (धौलागिरि हिमाल) सम्म फैलिएको यस जिल्लाको कूल क्षेत्रफल २,२९७ वर्ग किलो मिटर (२,२९,७०६ हेक्टर) रहेको छ ।
१५ वर्ष यताको तथ्यांक हेर्ने हो भने खेतलाई घडेरी बनाउने होडका कारण यहाँको आधा भन्दा बढि जमिन घटिसकेको छ । अहिले आयातित खाद्यन्नको भरमा यहाँको जनजीवन चलेको छ । दैनिक दिन खेतियोग्य जमिनमा पक्की भवन ठडिँदा समेत कसैले खेतियोग्य जमिनको पक्षमा वकालत गरेका छैनन् । बाहिरका मानिस सदरमुकाममा बसाइसरेर आएका छन् भने सदरमुकाम आसपासका मानिस खेतियोग्य जमिन बेचेर काठमाण्डौ,पोखरा,चितवन जस्ता शहरमा जाने क्रम बढेको छ । अव्यवस्थित सहरीकरणले पनि खेतियोग्य जमिनमा असर परेको स्थानीय बताउँछन् ।
सहरी जीवनले पनि खेतीसँगको मोह घटाएको छ । अहिले यहाँका बुढापाकाले खेतिपातीको काम गर्दै आइरहेको भएपनि युवाहरु पढाई, लेखाई र अन्य व्यापार व्यवसायमा संलग्न देखिएका छन् ।