म्याग्दी : सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको अनुदानमा म्याग्दी नदीको पानी तानेर बेनी बजारमा वितरण गर्न थालिएको छ । बेनी खानेपानी आयोजनाको क्षमता विस्तार कार्यक्रम अन्तर्गत दुई करोड ४६ लाख लागतमा संरचना निर्माण भएको हो ।

म्याग्दी नदीबाट लिफ्टिङ गरेको पानी बेनी खानेपानी उपभोक्ता संस्थाको पुरानो ट्याङ्कीमा हालेर वितरण गर्न थालेको बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । २०७८ असोजमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले एएम प्याराडाइज कम्पनीलाई ठेक्का दिएको थियो ।

म्याग्दी नदी किनारमा १० मिटर अग्लो इनार बनाउने, पानी तान्ने सम्पवेल, विद्युत पाइपलाइन जडान गर्ने काम सकेर पानी ‘पम्पिङ’ गर्न थालेको निर्माण कम्पनीका आयोजना व्यवस्थापक अजय तिमिल्सिनाले बताउनुभयो । “अठार महिनाको ठेक्का अवधि हो । पानी शुद्धीकरण गर्ने पलान्ट निर्माणस्थलमा निर्माण सामग्री ढुवानी गर्न असहज र पहिरो खसेकाले छ महिना म्याद थपिएको छ”, उहाँले भन्नुभयो “अबको दुई महिनाभित्र बाँकी संरचना निर्माण सकेर हस्तान्तरण गर्छौ ।”

  • यसरी गरिएको छ लिफ्टिङ

बेनी–नगरपालिका–२ हाडेभिरमा जमिनको सतहदेखि सात मिटर गहिरो इनारभित्र विद्युतको सहायताले चल्ने तीन वटा पानी तान्ने समर्सिबल पम्प राखिएको छ । इनारदेखि एक सय ३० मिटर उचाइमा बेनी बजारको शिरमा रहेको बराहपाखो स्थित रिजर्भ ट्याङ्कीसम्म पानी पुर्‍याउन करिब नौ सय मिटर चार इञ्चको जिआइ पाइप जडान गरिएको आयोजनाका इञ्जिनियर नवीन सुवेदीले बताउनुभयो ।

“हाल दुई वटा पम्पबाट प्रति सेकेण्ड १० लिटरका दरले पानी तानिएको छ” उहाँले भन्नुभयो “तीनवटै पम्प चलाउँदा प्रति सेकेण्ड १५ लिटरका दरले पानी आपूर्ति गर्न सकिन्छ ।”

आयोजना मार्फत बराहपाखोमा तीन लाख ४० हजार लिटर क्षमताको रिजर्भ टङ्याकी निर्माण भइसकेको छ । ५.९४ घनलिटर क्षमताको दुई वटा पानी शुद्धिकरण गर्ने फिल्टर प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको छ । नयाँ प्रविधिको सेडिमेन्टेसन् र स्लोस्याण्ड फिल्टर ट्याङ्की बनाउन लागिएको हो ।

आयोजनाले दुई वर्षअघि बेनी खानेपानी आयोजनाको क्षमता विस्तारका लागि रु ४२ लाख ८१ हजार आठ सय २० को लागतमा दुई लाख लिटर क्षमताको ट्याङकी निर्माण गरेको थियो । आयोजनाको हाल एक लाख लिटर क्षमताको एक वटा र दुई लाख लिटर क्षमताको दुई वटा रिजर्भ ट्याङ्की छन् ।

मुहानबाट ट्याङ्कीमा सङ्कलन हुने पानी शुद्धीकरण गरेर वितरण गर्ने संरचना तयार पार्न लागिएको हो । बेनी नगरपालिकाको ७, ८ र २ नम्बर वडाका एक हजार एक सय घरधुरीलाई रिठाखर्क, पुम्दी र कोप्रेको मुहानबाट प्रतिसेकेण्ड ३३ लिटरका दरले पानी आपूर्ति हुने क्षमता छ ।

दैनिक पाँच लाख ६० हजार लिटरका दरले खानेपानी वितरण गरिँदै आएको बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक यामबहादुर विकले बताउनुभयो ।

Leave a Reply