पश्चिम म्याग्दीको दरबाङमा सञ्चालित आत्मनिर्भर साना किसान कृषि सहकारी संस्थाले वर्षौंदेखि बाँझो रहेको जमिनको सदुपयोग गरी व्यवसायिक तरकारी खेती गरेको छ । सहकारीमार्फत डेढ सय रोपनी जग्गा भाडामा लिएर गरेको आलु खेतीबाट यसपटक करिब ५ टन आलु बजारमा गएको छ भने बाँझो जमिनमा अहिले हराबरा भएको छ ।

सहकारीले खेर गएको जमिनसँगै भाडामा लिएर माटो परिक्षण गरेर माटो सुहाउँदो उत्पादनमा जोड दिएको सहकारीका अध्यक्ष सन्तनाथ सुबेदीले बताए । ‘बजारसम्म उत्पादनलाई लैजान सुरु गरेका छौ,‘बजारीकरण सहज भएमा उत्पादनको समस्या छैन’ अध्यक्ष सुबेदीले भने ।

उनका अनुसार गाउँपालिकाको ७ वडाभित्र ७५ समुहमा आवद्ध सेयर सदस्यमार्फत उत्पादन, संकलन र बजारीकरणमा केन्द्रित भएको बताए । सहकारीमार्फत आलु लगायत तरकारीको विउ, आवश्यक सिप, प्राविधिक सहयोग दिएपछि किसानहरुले समेत बाँझो जमिनको सदुपयोग गरेका छन् । कृषि उपजको बजारीकरण र ढुवानीको लागी स्थानीय सरकारले सहयोग गरेमा किसानको बाँझो जग्गामा कृषिजन्य उत्पादनले ढकमक्क बताउन सकिने आत्मनिर्भर साना किसान कृषि सहकारी संस्थाले जनाएको छ ।

सहकारीमार्फत सामुहिक रुपमा तरकारी खेती सुरु भएसंगै कृषक पनि खुसी भएको मालिका–४, ओखरबोटकी सरीमा पुनले बताईन् । सहकारीमा कुल ४ सय ८६ जना शेयर सदस्य रहेकोमा शेयर पुँजी ५६ लाख रहेको छ ।हालसम्म १ करोड लगानी रहेको सहकारीले ।सहकारीले कृषि उत्पादन बाहेक च्याउ, भिर मह, सिस्नोको धुलो जस्ता अन्य कृषि उत्पादनहरुलाई समेत बिक्री गर्ने गरेको छ ।

२०७६ सालमा स्थापना भई मालिका गाउँपालिका कार्यक्षेत्र बनाएर सञ्चालन भएको सहकारीले उत्पादित वस्तुसँग वस्तु साट्ने, बाँझो रहेको जमिनमा कृषि खेती गर्ने र उत्पादनमूलक क्षेत्रलाई जोड दिइएको छ । अहिले संस्थाले गरेको तरकारी दरबाङ, रातोढुंगा, बावियाचौर लगायत स्थानीय बजारमा बिक्री हुने गरेको छ भने निकट भविस्यमा सदरमुकाम बेनीबजार सहित विभिन्न क्षेत्रमा समेत बजार विस्तारको लक्ष्य छ । संस्थाले तरकारी खेतीका साथै आर्थिक कारोबारमा ४ जनालाई रोजगारी समेत प्रदान गर्दै आएको छ ।

 

Leave a Reply