म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष बेग प्रसाद गर्वुजा लम्पी स्किन रोगबाट विरामी परेका पशुहरुको उपचारका लागि कृषकको गोठ गोठमा पुग्नुभएको छ ।

मालिका गाउँपालिका वडा नम्वर ५ देविस्थानमा लम्पी स्किनबाट विरामी परेका गाईगोरु र बाच्छाबाच्छीलाई अध्यक्ष गर्बुजाले गोठमै पुगेर खोप (भ्याक्सिन) लगाउनुभएको छ ।

तीन दिन सम्म वडा नम्वर ५ का विरामी पशुहरुको उपचारमा रहनुभएका गर्बुजा आईतबार विहान वडा नम्वर ४ को सिस्नेरी पुग्नुभएको छ ।
‘प्राविधिक जनशक्ती कम भएकाले म आफै भ्याक्सिन लगाउन गोठ गोठमा पुगीरहेको छ’ु अध्यक्ष गर्बुजाले भन्नुभयो । देविस्थानका १ सय भन्दा धेरै गाई गोरु र बाच्छाबाच्छीलाई खोप लगाएको उहाँले बताउनुभयो ।

सिस्नेरीमा १५ भन्दा वढि पशु लम्पी स्किनबाट विरामी परेको भेटिएको छ । अध्यक्ष गर्बुजा संगै वडा सदस्य तुलसी पुर्जा, स्थानीय पविता पुन, र भेटेरीनरी विषय अध्ययन गर्ने विद्यार्थीहरु विरामी पशुको उपचारमा खटिएका छन ।

बाली र पशु स्वास्थ्य सेवा विषयको अध्ययन गर्नुभएका गर्बुजा यस अघि विमको किसानी प्राविधिक शिक्षालयको संस्थापक प्राचार्य हुनुहुन्थ्यो ।
उहाँका अनुसार लम्पी स्किन रोगबाट विरामी परेका पशुहरुको उपचार गरेर क्षति हुन नदिन सवै वडामा औषधि र भ्याक्सिन सहित प्राविधिक परिचालन गरिएको छ । प्राविधिकले नभ्याएको ठाउँमा उहाँ आफै पुग्नुभएको छ ।

विरामी पशुहरुको उपचारमा गाउँपालिकाले औषधि खरिद गरेको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले लम्पी स्किन विरुद्धको भ्याक्सिन र गुड नेवर्स इन्टरनेश्नलको सहयोगमा संगम म्याग्दीद्वारा संचालित सामुदायिक विकास परियोजनाले औषधि उपलब्ध गराएको थियो ।

जिल्लामा व्यापक रुपमा फैलिएको सो रोगबाट पशुहरुलाई ज्वरो आउने, शरिरका विभिन्न भागहरुमा फोका देखा पर्ने, झोक्राउदै जाने, घाँस खोले नखाने र अन्त्यमा मृत्यु हुने गरेको छ ।

Leave a Reply