म्याग्दी म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरका ३२ वर्षीय दिनेश पुन कक्षा पाँचसम्मको अध्ययनका लागि छिमेकी गाउँ सातबिसेको पुन्यजन आधारभूत विद्यालयमा जाने गर्थे । बाबियाचौरदेखि सातबिसेको विद्यालय जाँदा र घर फर्कंदा बाटो काट्ने क्रममा उनले सिकेको बासुरी बजाउने कला नै अहिले जीवन जिउने आधार बनेको छ ।   

“बाबियाचौरको माविमा धेरै विद्यार्थी भएकाले पढाइ राम्रो हुदैन भनेर आमाले मलाई थोरै विद्यार्थी भएको सातबिसेमा पढ्न पठाउनुभएको थियो,” दिनेशले भने “स्कुल जाँदा र घर फर्कंदा बाटो काट्न बासुरी बजाउने गर्दथेँ । अहिले त्यही कला मेरो जीविकोपार्जनको आधार बनेको छ ।”

बाटो हिँड्दा, मेलापात जाँदा, विद्यालय र गाउँको कार्यक्रममा सीमित रहेको दिनेशको बाँसुरी बजाउने कलाले विसं २०६२ मा बेनीमा भएको म्याग्दी महोत्सवमा उजागर हुने मौका पायो । अहिले उनलाई मेला, महोत्सव, महायज्ञमा बाँसुरी बजाउन आयोजकले शुल्क तिरेर बोलाउँछन् । ‘लाइभ कार्यक्रम’मा पनि आयोजकले बाँसुरी बजाउन दिनेशलाई बोलाउने गर्छन् ।   

“विदेश जाने प्रयास सफल भएन,” उनले भने “आम्दानीको अन्य स्रोत र ब्यापार व्यवसाय पनि छैन । सत्र वर्षदेखि बाँसुरी बजाएर आफ्नो खर्च र घर खर्च चलाएको छु ।” महायज्ञ र महोत्सवमा बासुरी बजाएको एकमुष्ट रु ३५ हजार शूल्क लिने र अन्य कार्यक्रममा दैनिक रु पाँच हजार शुल्क लिने गरिएको उनले बताए ।

आठ/नौ वर्षको उमेरदेखि नै बाँसुरीमा ‘टक’ बसेपछि बाँसुरी नै दिनेशको भाग्य चम्काउने माध्यम बनेको छ । बासुरीका प्वालमा हात चल्न थालेपछि भोक र निद्रासमेत बिर्सिने उनी बताउँछन् । म्याग्दीका साथै काठमाडौ, पोखरा, चितवन, रुपन्देही, पर्वत, बाग्लुङ, स्याङ, तनहुँमा आयोजना हुने महायज्ञमा दिनेशलाई बोलाउने गर्छन् ।   

उनले बजाएको बासुरीको धुन युट्युबमा हेरेर, सुनेर पैसा र उपहार पनि पठाउँछन् । कृष्णराज पौडेलले ‘हाम्रो म्याग्दी’ ‘युट्युब च्यानल’मा पोष्ट गरिएका बाँसुरी बजाएको भिडियो हेरेर बुटबल पुगेका बेला त्यहाँका एक होटल सञ्चालकले सम्मानस्वरुप खाना खुवाएर पठाएका थिए ।

दोहोरी गीत गाउने र मादल बजाउने कला पनि दिनेशसँग छ । केही दिन कास्कीको ल्याङ आएका उनको कलाबाट प्रभावित भएर त्यहाँको होमस्टे सञ्चालक दीपक गुरुङले फेरि आउँदा निःशुल्क खाने र बस्ने व्यवस्था मिलाउने घोषणा गरे । जस्तोसुकै लयमा पनि बाँसुरीको धुन निकाल्न सक्नु दिनेशको विशेषता रहेको लोक गायक अमित विश्वकर्माले बताए । “दिनेश प्रतिभाशाली कलाकार हुनुहुन्छ,” उनले भने “उहाँले अवसर पाउनु भयो भने राष्ट्रिय अन्तराष्ट्रियस्तरमा स्थापित बाँसुरी बादक बन्न सक्ने कला र क्षमता छ ।”

दिनेश बाँसुरीबाट विभिन्न किसिमका धुन निकाल्नु हुन्छ । बासुरीको धुन सुन्दासुन्दै कतिपयको त आँखाबाट आँसु नै झर्न थाल्छ । परिवारका एक्ला सन्तान उनको जीवन निकै सङ्घर्षमय छ । बुबाले हेला गरेका दिनेशलाई आमाले नै हुर्काइन् । आमाको पनि चार वर्षअघि निधन भएको थियो ।  रासस

Leave a Reply